दलीय ट्रेड युनियनको ‘झोला बोक्ने’ जनस्वास्थ्य अधिकृतलाई कार्यालय प्रमुख बनाउन दबाब

काठमाडौं। जेन-जी आन्दोलनको एजेण्डा कर्मचारीमा दलीय ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने पनि रहेको छ। जेन-जी आन्दालेनपछि सुरू भएको सार्वजनिक प्रशासन रूपान्तरण अभियान, २०८२ ले समेत उक्त माग लाई जोडतोडका साथ अघि बढाएको छ। तर, दलीय ट्रेड युनियनहरूको दलाली अझ उग्र हुँदै गएको पाइन्छ। नेपाल निजामती कर्मचारी युनियन नामको एउटा दलीय संगठनले आफ्नाे ‘झोला’ बोक्नेलाई कार्यालय प्रमुख बनाउन दबाब दिएको पाइएको छ।
नेपाल निजामती कर्मचारी युनियन, बझाङले आफ्ना सल्लाहकार समितिका अध्यक्ष भानुभक्त जोशी (वरिष्ठ खोप अधिकृत सातौं)लाई जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख बनाउन दबाब दिएको हो। युनियनले वरिष्ठ खोप अधिकृत सातौं जोशीलाई बझाङ जिल्लाको जिल्ला जनस्वास्थ्य प्रमुख बनाउन सूदुरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयलाई लिखित सिफारिस गरेको फेला परेको छ। जोशी युनियनको सल्लाहकार समितिको अध्यक्ष भएकै कारण जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख बनाउनका लागि सिफारिस भएका हुन्।
हाल बझाङ जिल्लाको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर धामी रहेका छन्। उनले पनि त्यहाँ कार्यालय प्रमुख चलाएको दुई वर्ष भइसकेको छ। धामी अर्के दलीय संगठनमा आबद्ध भएका कारण दुई कार्यकालसम्म रजाइँ गरिरहेका छन्। दलीय ट्रेड युनियन कै ‘झोला’ बोकेका कारण कार्यालय प्रमुख बनेर दुई वर्षदेखि निरन्तर राज गर्दै आएका छन्। फरक विचार र आस्था राख्ने कर्मचारीलाई धामीले दुःख दिने गरेको नेपाल निजामती कर्मचारी युनियन, बझाङको आरोप छ। उनले दुःख दिन प्रयोग गरिरहेको कुन पार्टीको हतियार हो त्यो पनि खोस्न जरूरी छ। दलीय कार्ड बोकेका यी दुबै कर्मचारीभन्दा जेन-जी आन्दोलनको ‘स्पिरिट’मा काम गर्ने राष्ट्र सेवकलाई बझाङको जिल्ला जनस्वास्थ्य प्रमुखको जिम्मेवारी दिन प्रदेश सरकारले कदम चाल्नुपर्छ। जेन-जी कर्मचारी अभियानको ध्यान यता पनि जानुपर्ने देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस