शिक्षकलाई तलब खुवाउन सकस

मन्त्री पुन र शिक्षा अधिकृतबीचको संवाद


काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरूलाई शिक्षकलाई तलब निकासा गर्न अनुरोध गरे। दसैँ तिहारको अवसरमा शिक्षा मन्त्रालयले सबै पालिकामा शिक्षकका लागि तलब पठाइसकेको भन्दै तत्काल निकासा गर्न मन्त्री पुनले सामाजिक सञ्जालबाटै अनुरोध गरेका थिए। त्यसपछि मन्त्री पुनलाई तलब पाइएन भनेर सयौं गुनासो आएको समेत जानकारी गराएका छन्। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा आफूले अनुसन्धान गरिरहेको र सो बेथितिको समाधानको उपाय खोजिरहेका समेत मन्त्री पुनले जनाएका छन्।

मन्त्री पुनले पालिकाका शिक्षा अधिकृतलाई समेत शिक्षकको तलब किन नदिएको भनेर फोनबाटै सोधेछन्। उनले गण्डकी गाउँपालिकाको शिक्षा हाकिमलाई नै फोन गरेर शिक्षकको तलब किन समयमा खुवाउनु भएन तपाइले? छिटो पठाइदिहाल्नुहोस् तपाईको गुनासो आएको छ। के के कारणले यस्तो भयो त्यो पनि भन्नुहोस् भनेर जवाफ मागेछन्। तर, महालेखा नियन्त्रक कार्यालयको सुत्रले काम नगर्दा तलब खुवाउन नसकिएको शिक्षा हाकिमको गुनासो आएपछि मन्त्री पुनले फोन राखेको शिक्षा अधिकृतले नै खुलाएका छन्।

मलेनिको बदमासीले गर्दा देशभरका शिक्षक तलब खानबाट बञ्चित भएको यो घटनाबाट प्रस्ट हुन्छ।। पहिला त मलेनिकाले बनाए यो सुत्र सफ्टवेयर निर्माण गर्दा भएको अनियमिततामाथि छानबिन गर्नु पर्ने देखिन्छ। यतातिर पनि जेन-जी सरकारको ध्यानाकर्षण हुन जरूरी छ।

मन्त्री पुनको फोन बारे गण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख सुदिप पन्थ लेखेका छन्,

२०८२ असोज १२ गतेको दिन थियो । समय बिहानको ७ बजेर २३ मिनेट भएको थियो । मोबाइलको घण्टी बज्यो । मोबाइलमा इन्टरनेट जडान नभएकाले ट्रयुकलरले नाम पत्ता लगाएन।

फोन उठाएँ ।

फोनकर्ताः तपाइ गण्डकी गाउँपालिकाको शिक्षा हाकिम हो?

मैले आफुलाई सहजकर्ता भन्न रूचाउँछु हाकिम भनेको मन त पर्दैन तर पनि फोनमा धेरै गफिन मन नपर्ने भएकाले मैले यताबाट बोलेँः हजुर भन्नुहोस्।

फोनकर्ताः शिक्षकको तलब किन समयमा खुवाउनु भएन तपाइले? छिटो पठाइदिहाल्नुहोस् तपाईको गुनासो आएको छ । के के कारणले यस्तो भयो त्यो पनि भन्नुहोस्।

स्वर कतै सुनेको जस्तो लाग्यो मान्छे चिनिन तर पनि बिस्तारमा बताएँ।

मः हामीले शुत्रमा प्रक्रियागत रूपमा अगाडी बढाएका छौ तर महालेखा नियन्त्रक कार्यालयले प्राविधिक रूपमा व्यवस्थापन गर्ने शुत्र (SUTRA) मा अहिले मर्मत भइरहेकाले गएको छैन। ५ दिन भयो प्रक्रियामा लगेको । हामीले सक्दो प्रयास गरिराखेको छौ। हजुर को बल्नुभयो होला, पत्रकार हुनुहुन्छ हो?

फोनकर्ताः म महावीर पुन बोल्दै छु।

मः नमस्कार मन्त्रीज्यू।

मैले मन्त्रीको फोन एउटा स्थानीय तहमा काम गर्ने सामान्य कर्मचारीलाई आउँछ भन्ने कल्पना सम्म पनि गरेको थिइनँ। मैले मन्त्रीज्यूलाई पूरा कहानी छर्लङ्ग बनाईदिएँ। उहाँलाई यो विषयमा त्यति धेरै जानकारी नभएको महसुस गरेँ तर उहाँले सबै डायरीमा टिपेको अनुभूति गरेँ। सल्लाहकार र श्रीमान सचिवज्यूले किन जानकारी नगराउनुभएको होला कुन्नी?

म: हजुरले अर्थ मन्त्रालय मार्फत महालेखा परीक्षकको कार्यालयका महालेखा नियन्त्रकज्यूलाई फोन गरेर समस्या समाधानको पहल गरिदिनुपर्यो । आजलाई मात्र भए पनि शुत्र चलाइदिन भन्दिनुपर्यो मन्त्रीज्यू ।

फोनकर्ता: म समाधान गर्ने प्रयास गर्छु ।

संवाद समाप्त भयो। ४ मिनेट १४ सेकेन्ड को संवादमा मुख्य विषयमात्र यहाँ राखेको छु।

त्यसपछि पुन उहाँलाई गत एक हप्तामा एक दुइपटक फोन गरेँ, उहाँको फोन त उठेन तर त्यो खालको उत्तरदायित्व एक जना मन्त्रीले लिएको देख्दा गजब लाग्यो। बाँकी सही गलत मैले छुट्याउन सकिनँ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ