पूर्वसभामुख रानाभाटले अहिलेसम्म गरेनन् गाडीसहितका गैरकानुनी सुविधा फिर्ता 

पूर्वसभामुख महरा, घर्ती र सापकोटाले भने फिर्ता गरे


काठमाडौं। पूर्वसभामुख तारानाथ रानाभाटले अहिलेसम्म गाडीसहितका गैरकानुनी सुविधा फिर्ता गरेका छैनन्। अर्थ मन्त्रालय तातेपछि प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षले गाडीलगायतका गैरकानुनी सुविधा फिर्ता गर्न थालेका छन्। तिमध्येका पूर्व सभामुख रानाभाटले भने गाडी फिर्ता गर्न आनाकानी गरेका हुन्।

अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेपछि प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र अग्नीप्रसाद सापकोटाले गाडीलगायत सुविधा फिर्ता गरिसकेका छन्। त्यस्तै राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि सरकारी गाडी फिर्ता गरिसकेका छन्। तर, राजदरबार हत्या काण्डमा विवादित बनेका रानाभाट गैरकानुनी सुविधा लिएर मस्ती मारिरहेका छन्।

अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जवरजस्ती उपभोग गरिरहेका पूर्वपदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको जानकारी गराएका थिए। सरकारी गाडी चढ्दै आएको समाचार सार्वजनिक भएपछि राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाडी फिर्ता गरे। त्यसपछि पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र अग्नीप्रसाद सापकोटाले कानुनले नदिएको गाडीसहितको सुविधा फिर्ता गरेका छन्। उनीहरूले संसद् सचिवालयमा गैरकानुनी सुविधा फिर्ता गरेका हुन्।

विघटित प्रतिनिधिसभाका विभिन्न समितिका सभापतिले समेत गाडी फिर्ता गर्न थालेका छन्। अर्थ मन्त्रालय तातेपछि गणतन्त्रलाई बदनाम गराएर राज्यकोष लुट्ने राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले गैरकानुनी सुविधा फिर्ता गर्न थालेका हुन्।

विगतमा गृह मन्त्रालयले मापदण्डविपरीत सुरक्षालगायतका सुविधा लिने राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई त्यस्तो सुविधा फिर्ता गराउन पटकपटक निर्देशन दिँदे आएको थियो। तर उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन। अहिले अर्थ मन्त्रालय तातेपछि गैरकानुनी सुविधा फिर्ता हुन थालेको हो। अर्थमन्त्री र अर्थ मन्त्रालयको टिम तातेपछि राज्यकोष खोक्रो पारेर विलासी जीवन बिताइरहेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीको नकाब उत्रिएको छ। अर्थ मन्त्रालयले यस्ता विकृति रोक्न महत्त्वपूर्ण कदम चालेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ