अख्तियारद्वारा रञ्जिता, बलराम र अर्जुनमाथि अर्को भ्रष्टाचार मुद्दाको तयारी


काठमाडौं। पोखराको लिचिबारीको जग्गा हडप्न बिचौलियासँग घूस डिल र लेनदेनको अडिओ प्रकरणमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठविरूद्ध गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उक्त जग्गा प्रकरण र मालपोत तथा भूमि आयोगका विषयमा भएको घूस डिल र लेनदेनमा अर्को मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियारले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलको हकमा अर्को मुद्दा लाने तयारी थालेको हो।

लिचिबारीको जग्गा हडप्ने प्रपञ्चमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत भइसकेकी रञ्जिताले पिएसओ रोशन लोहनी मार्फत ११ लाख रूपैयाँ घूस लिएको विषयमा छुट्टै अनुसन्धान सुरू गरेको हो। बिचौलियासँग लिएको उक्त ११ लाख प्रकरणमा भ्रष्टाचारमा डामिएकी रञ्जितामाथि अनुसन्धान गरेर अर्को मुद्दा दायर गर्ने तयारी भइरहेको अख्तियार स्रोतले बतायो।

लिचिबारीको जग्गा प्रकरणमै बिचौलिया सुजनकुमार तामाङ (लामा)सँग ३२ लाख रूपैयाँ घूस लिएको प्रकरणमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबिरूद्ध पनि भ्रष्टाचार मुद्दाको तयारी भइरहेको छ। उक्त प्रकरणमा अधिकारीमाथि थप अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी रहेको अख्तियार स्रोतको भनाइ छ।

त्यस्तै अख्तियारले तात्कालीन भूमि सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध पनि छुट्टै अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेको हो। उक्त जग्गा प्रकरणमा पूर्वसचिव पोखरेलमाथि पनि ५ लाख रुपैयाँ पैसा, ‘ग्लेनफिडिक’ रक्सी, वनकुखुरा र अरिंगाल खाएको आरोप छ। बिचौलियाले पोखरेललाई रानीबारीस्थित उनकै घरमै पुगेर पाँच लाख रुपैयाँ बुझाएको अडिओ सार्वजनिक भएको थियो। अख्तियारले उक्त प्रकरणलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको पाइन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ