आक्रामक बन्दै अख्तियार: भिजिट भिसा प्रकरणमा पहिलो चरणको मुद्दा दायर गर्ने तयारी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारको मुद्दा दायर गर्न आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ। पोखराको लिचिबारीको जग्गा घूस डिल र लेनदेनको अडिओ प्रकरणमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेर अख्तियारले आक्रामक सुरूवात गरेको हो। दोस्रो चरणमा पूर्वमन्त्री श्रेष्ठ, तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसहितलाई अनुसन्धान गरेर मुद्दा दायर गर्ने अख्तियारको तयारी छ।
लिचिबारीको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको र दुई पूर्वमन्त्री र एक सचिवमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले भिजिट भिसा काण्डको पनि अनुसन्धान टुंगोमा पुऱ्याउन लागेको हो। अख्तियार स्रोतका अनुसार पहिलो चरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित केही कर्मचारी र बिचौलियालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी छ। ओमप्रकाश अर्याल गृहमन्त्री भएपछि सहसचिव भट्टराई गृह मन्त्रालयको जगेडाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा पुगेका छन्। रमेश लेखकले संरक्षण गरेर गृहमै राखेका भट्टराई सामान्यमा फ्यालिएका छन्। अब उनी सामान्यको सहसचिवको हैसियतमा नै भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा पर्नेछन्। लेखकले गृहको सहसचिव कै हैसियतमा प्रतिवादी बनाउने गरी गृहमै हाजिर गराएका थिए। भट्टराई मुद्दा लाग्ने चरणमा पुग्दा सामान्यमा पुगेका हुन्।
विशेष अदालतका विगतका फैसला अनुसार अख्तियारले मुद्दालाई बलियो र प्रभावकारी बनाउन चरणबद्ध अनुसन्धान गर्न थालेको छ। भिजिट भिसा प्रकरणमा पनि अख्तियारले वारदातको प्रकृति हेरेर छुट्टै अनुसन्धान गर्ने तयारी गरिरहेको अख्तियार स्रोतले बतायो।
भिजिट भिसा प्रकरणमा पहिलो चरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा दायर गर्न लागेको अख्तियारले दोस्रो चरणमा गृह मन्त्रालयको कनेक्सन खोज्ने तयारी गरेको छ। अख्तियार स्रोतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी, प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल, लेखकका निजी सचिव बद्री तिवारीलगायतमाथि दोस्रो चरणमा अनुसन्धान बढ्ने देखिन्छ। भट्टराई अख्तियारमा पुग्नेवित्तिकै तत्कालीन सचिव दुवाडी र प्रशासन महाशाखा प्रमुख रिजाललाई अख्तियारले निगरानीमा राखेको थियो। दोस्रो चरणको अनुसन्धानमा उनीहरू तानिने निश्चित रहेको स्रोतको भनाइ छ
जेन-जी आन्दोलनमा दमन गरेपछि जागिर गुमाएका गृहमन्त्री लेखक गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको निगरानीमा छन्। गृहबाट राष्ट्रिय योजना आयोग पुगेका सचिव दुवाडी र काठमाडौंको सिडिओबाट गृह मन्त्रालयको जगेडा हुँदै सामान्य प्रशासन मन्त्रालयको जगेडामा पुगेका सहसचिव रिजालको पासपोर्ट पनि कार्की आयोगले रोक्का गरिदिएको छ। उनीहरूमाथि भिजिट भिसामा अख्तियार लाग्ने जोखिम बढेको हो।
भिजिट भिसाको निगरानीमा रहेका अधिकारीहरू नै जेन-जी आन्दोलन दमनमा मुछिएका छन्। उनीहरूमाथि दोहोरो चार्ज लाग्ने सम्भावना देखिन्छ। अख्तियारको सक्रियता बढेसँगै भिजिट भिसा प्रकरण विशेष अदालतमा पुग्ने अवस्था आएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस