भिआईपीको घूस व्यवस्थापनमा दुरूपयोग गरिँदै पिएसओ

समाचार टिप्पणी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठको पिएसओ रोशन लोहनीले ११ लाख रुपैयाँ बैंक खातामा जम्मा गरेको विषयलाई छानबिनको दायरामा ल्याएको छ। यमकुमारी गुरूङको नाममा गरिमा विकास बैंकमा रहेको खातामा पूर्वभूमिभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिताका पिएसओ प्रहरी सहायक निरीक्षक लोहनीले ११ लाख रुपैयाँ जम्मा गरेको विषयलाई अख्तियारले अनुसन्धानको दायरामा ल्याएको हो।
अख्तियारले पोखराको लिचिबारीको जग्गा घूस डिल र लेनदेनको अडियो प्रकरणमा रञ्जिताबिरूद्ध ७८ लाख बिगो मागदाबीसहित विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। उनको पिएसओ लोहनीमार्फत बैंक खातामा जम्मा भएको ११ लाख रुपैयाँको सम्बन्धमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्ने अख्तियारको तयारी छ।लिचिबारी जग्गा प्रकरणको सेटिङमा संलग्न रहेको आरोपमा रञ्जितासँगै भ्रष्टाचार मुद्दामा डामिएकी गुरूङको खातामा उनका पिएसओले पैसा जम्मा गरेपछि अख्तियार छुट्टै अनुसन्धान गर्ने तयारी थालेको हो।
त्यसो त पिएसओ मार्फत बैंक खातामा सेटिङको रकम जम्मा गर्न लगाउने रञ्जिता पहिलो व्यक्ति होइनन्। तत्कालीन गृहसचिव (हाल कारागार) टेकनारायण पाण्डेले पनि पिएसओ मार्फत १ करोड रुपैयाँ पैसा बैंकमा जम्मा गर्न लगाएको प्रमाण फेला परेको थियो। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गर्दा पाण्डेले पिएसओलाई एक करोड १४ लाख रुपैयाँ आफ्नो बैंकमा जम्मा गर्न लगाएको अनुसन्धानबाट पुष्टि भएको थियो। अहिले फेरि रञ्जिताले पिएसओलाई घूस व्यवस्थापन गर्न लगाएको विषयमा अनुसन्धान सुरू भएको छ।
पिएसओ दुरूपयोग गरेर ‘घूस’ रकम जम्मा गर्न लगाउने रञ्जिता र पाण्डे दुबै जना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व पदाधिकारी हुन्। रञ्जिता भूमिमन्त्री र पाण्डे भूमि सचिव भएर ‘मालपोत’ उठाउन अनुभव लिइसकेका छन्। फरक यति हो पाण्डेले पिएसओलाई आफ्नै बैंक खातामा र रञ्जिताले बिचौलियाको बैंक खातामा रकम जम्मा गर्न लगाएको देखिन्छ। चलाखीका हिसाबले पाण्डेभन्दा रञ्जिता एक कदम अगाडि रहेको पाइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस