स्वास्थ्यमा संगिताहरूको दुर्दशा सुरू: भण्डारी भ्रष्टाचारमा डामिइन्, मिश्रा ‘पाइपलाइन’मा

काठमाडौं। स्वास्थ्य क्षेत्रमा कुनै बेला संगिताहरूको रजगज चल्दै आएको थियो। पाटनदेखि राप्ती प्रतिष्ठानसँगको उपकुलपति बन्न सफल संगिता भण्डारी अहिले भ्रष्टाचार मुद्दामा डामिएकी छिन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुँदा एमआरआई उपकरण खरिदमा १२ करोड बढी घोटाला गरेको भन्दै संगिता भण्डारीलाई भ्रष्टाचार मुद्दा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भण्डारीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यस्तै कोशी प्रसूति गृह जस्ता अस्पतालको निर्देशन हुँदै स्वास्थ्यको अतिरिक्त सचिव बन्न सफल डा. संगिता मिश्रामाथि पनि भ्रष्टाचार मुद्दा दायर हुने अवस्था आएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिद घोटालामा मिश्रामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्न लागेको स्रोतले बतायो।
अख्तियारको छानबिनमा रहेकी भण्डारी तात्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रयोग गरेर झन्डै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति बनेकी थिइनन्। वीपी वीपीको उपकुलपति भए को भए अहिले निमित्तको राज चल्ने अवस्था आउथ्यो। भण्डारीले पददेखि स्वास्थ्य क्षेत्रमा आउने पुरस्कारमा समेत सबै पाउँदै आएकी थिइन्। ति सबै पद र पुरस्कारलाई भ्रष्टाचारको कलंकले कोमामा पुऱ्याइदिएको छ।
स्वास्थ्यको अतिरिक्त सचिवबाट झन्डै स्वास्थ्य सचिव र मन्त्री बनेकी संगिता मिश्रा पनि भण्डारी कै हालतमा रहेको चर्चा छ। अख्तियारले भ्रष्टाचारमा छानबिन गरिरहेको सूचना चुहिएपछि मन्त्री हुन नपाएकी मिश्रा पनि अख्तियारको ‘पाइपलाइन’मा रहेको बुझिन्छ।
संयोग पनि डा. भण्डारी र डा. मिश्रा महोत्तरी कै हुन्। सदाबहार मन्त्री शरदसिंह भण्डारीकी बहिनी संगिता र कांग्रेस नेता स्व.रामचन्द्र मिश्रकी बुहारी संगिताको पारिवारिक राजनीतिक पृष्ठभूमि समेत उस्तै रहेको पाइन्छ। उनीहरूले एकैपटक भ्रष्टाचार मुद्दाको दुर्दशा भोग्नुपर्ने अवस्था निम्तिएको छ। भण्डारीको विस्तृतको फाइल विशेष अदालत पुगिसकेको छ। मिश्राको त्यस्तै प्रकृतिको फाइल विशेष अदालतमा जाने तरखरमा रहेको बताइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस