ऐतिहासिक भवनबाट राउण्डटेबलमा झर्यो स्वास्थ्य मन्त्रालय

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी (Gen-Z) आन्दोलनले देशभरका सरकारी संरचनामाथि गम्भीर प्रभाव पारेको छ। आन्दोलन चर्किँदै जाँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवनमा लागेको आगलागीले नेपालकै आधुनिक वास्तुकलाको एउटा रत्न सदाकालागि नष्ट गरिदिएको छ।
अहिले मन्त्रालयले सेवा सञ्चालनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को (NHRC) भवन सापटी लिएर काम थालेको छ।
आगलागीपछि मन्त्रालयले आपतकालीन रूपमा कर्मचारी सुरक्षित स्थानमा सार्ने कार्य गरेको थियो। हाल मन्त्रालयका अधिकांश शाखाहरू परिषद्को हलमा अस्थायी रूपमा बसेर राउण्डटेबल छलफल र बैठकमार्फत नियमित कार्यहरू अघि बढाइरहेका छन्। कति बेला के हुने हाे, कर्मचारी अन्यायमा छन् ।
स्वास्थ्यकाे जलेको भवन विश्वकै अनुपम नमुना मानिन्थ्यो। स्वास्थ्य लाइभले विगतमा यसको इतिहासकारे स्पस्ट पारिसकेको छ । फ्रान्सका विश्वप्रसिद्ध भवन डिजाइनर लुई कानद्वारा १९७० दशकमा तयार गरिएको यो संरचना पिल्लर प्रयोग नगरी ‘वाल सिस्टम’ को माध्यमबाट निर्माण गरिएको थियो। वास्तुकलाका विशेषज्ञहरूका अनुसार यस्तो संरचना विश्वभर केवल नेपाल, पाकिस्तान र श्रीलंकामा मात्र थियाे।
यसले प्राकृतिक प्रकाशको अधिकतम उपयोग गर्नसक्ने र तापक्रम सन्तुलित राख्ने अद्वितीय प्रणाली प्रदान गर्थ्यो। वास्तुशिल्पविद्हरूका अनुसार यो भवन लुई कानको प्रसिद्ध कामहरूमध्ये एक दुर्लभ उदाहरण मानिन्थ्यो, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा वास्तुकलाको नक्सामा राखेको थियो। तर पछिल्ला वर्षहरूमा अवैध रुपमा भवनमा थपिएको धातुको छाना र अतिरिक्त तलाले यसको मौलिकता कमजोर बनाएको थियो।
आगलागीपछिको मूल्याङ्कनमा भवन पूर्णरूपमा प्रयोगयोग्य नरहेको निष्कर्ष निकालिएको छ। त्यसपछि मन्त्रालय भवनविहीन अवस्थामा पुगेको छ। यतिबेला स्वास्थ्य मन्त्रालयले स्थायी ठेगानाका लागि विकल्प खोज्दैछ। सिंहदरबारभित्र मन्त्रालय सार्नुपर्ने आवाज बलियो बन्दै गएको छ। प्रशासनिक र नीतिगत समन्वयका हिसाबले पनि मन्त्रालय सिंहदरबारभित्र गए सुशासन र जवाफदेहिताको अभ्यास थप सशक्त हुने तर्क कर्मचारीले अगाडि सारेका छन् ।
वास्तुकला इतिहासका जानकारहरू भन्छन्, “यो केवल एउटा सरकारी भवन होइन, नेपालमा आधुनिक सोच र कला–इन्जिनियरिङको संगम थियो। यसको पुनर्निर्माण केवल संरचनात्मक होइन, सांस्कृतिक पुनर्जीवनको विषय हो।”
अब मन्त्रालय ‘राउण्डटेबल’बाट निर्णय र छलफलको अभ्यास गर्दै अघि बढेको छ, सायद यही संक्रमणको प्रतीक हो, जहाँ ऐतिहासिक ईँटाबाट बनेको भवन गुमे पनि संवाद र पारदर्शिताको नयाँ जग बस्दैछ।
ट्याग : ##राउण्डटेबल
तपाईको प्रतिक्रिया दिनुहोस