परराष्ट्र मन्त्रालयमा ओली सत्ताका तरमाराहरूको अझै चलखेल!

समाचार टिप्पणी
काठमाडौं। लामो समयदेखि परराष्ट्र मन्त्रालयमा ओलीलाई ‘बा’ भनेर अरूलाई धम्की दिँदै रजगज गरेर बस्ने ओलीका ओली सत्ताका तरमारा कर्मचारीहरूको परराष्ट्रमा अझै उत्तिक्कै चलखेल छ। जेन-जी आन्दोलनको बलमा सुशिला कार्की नेतृत्वको सरकार बनेपनि परराष्ट्र मन्त्रालय अहिले पनि ओली सत्ता कै छायाँ देखिएको अधिकारीहरूले बताउन थालेका छन्।
ओली सत्ताका विश्वासपात्र परराष्ट्र सचिव अमृत राई मन्त्रालयका सबैभन्दा ठूलो एमाले ठान्ने गरेको आरोप लाग्दै आएको छ। सहसचिव हुँदै दक्षिण अफ्रिकामा राजदूत बनाइएका राईलाई केपी ओलीले कार्यकाल पूरा हुन केही महिना बाँकी मै नियम मिचेर सीधै स्थायी नियोग न्यूयोर्कको स्थायी प्रतिनिधि बनाएका थिए। त्यसपछि डिसिएम सहसचिव रहने न्यूयोर्कमा स्थायी प्रतिनिधि पनि सहसचिव नै पठाउने विकृत अभ्यास सुरू भयो। एमआरपीमा चलखेल गर्ने सहसचिव लोकबहादुर थापाले राई कै नजिरलाई टेकेर न्यूयोर्कको स्थायी प्रतिनिधि बन्न सफल भए।
न्यूयोर्कको कार्यकाल सकेर फर्केका राईले युएन महाशाखा प्रमुख भैरहँदा नेपालका इतिहासकै पहिलो महिला परराष्ट्र सचिव सेवा लम्साललाई असहयोग गरिरहे। ओलीकै दम्भमा आफै सचिवजस्तो गर्ने राईलाई सचिव बनाउन इतिहासमै पहिलोपटक परराष्ट्र सचिवलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा सरुवा गरेर राईलाई सचिव बनाइयो। परराष्ट्र मन्त्रालयकै पहिलो इतिहासमा एउटा सक्षम महिलालाई समाप्त पार्ने कालो इतिहास कोरियो। सेवा लम्साल आँसु बगाउँदै यसको पाप ओली, आरजु राणा देउवा र तिनै राईले बोक्नु पर्नेछ भन्दै प्रधानमन्त्री कार्यालय सरूवा भएकी थिइन्। पछि ती सोझी छक्कापन्जा नजानेकी सेवालाई बेल्जियमको राजदूत बनाइएको थियो। सेवालाई हटाउनेबित्तिक्कै ओलीले आफ्नो स्वार्थ पूरा गर्न थाले। ओलीलाई ‘बा’ भन्ने प्रथमा उप्रेती र राईकै मिलेमतोमा परराष्ट्रमा अनावश्यक दरबन्दी सृजना गरेर ओएन्डएम पास गरियो। आज पर्यन्त प्रधानमन्त्री र अर्थमन्त्रीले आवश्यक्ताभन्दा बढी दरबन्दी सृजना गरेर हरेक वर्ष करोडौँ रुपैयाँ सकिएको विषयमा परराष्ट्र मन्त्रालयलाई दरबन्दी घटाउन आदेश दिइरहेको पाइन्छ।
सेवा लम्साललाई जबर्जस्ती हटाई राईलाई सचिव बनाउनुमा ओलीको एक स्वार्थ थियो। चीनको बीआरआई सम्झौतामा नेपाललाई सहभागी गराउने। भारत, अमेरिका युरोपियन मुलुकहरूको चाहनाविपरित त्यो समझौतामा नेपालको तर्फबाट परराष्ट्र सचिव अमृत राईले हस्ताक्षर गरेका थिए। यसै गरी एससीओ सम्मेलनमा सहभागी हुँदा अत्यन्त विवादास्पद जीएसआई सम्झौतामा पनि नेपालको तर्फबाट अमृत राईले नै हस्ताक्षर गरेका थिए। चीनियाँ सैन्य समझौता जीएसआईमा नेपाल सहभागी भयो भनेर विवादमा आउँदा विमानस्थलको पत्रकार भेटमा सचिव राईले अस्वीकार गरे पनि चीन सरकारले जीएसआईमा सहभागी भएका मुलुकहरूमा नेपालको नाम स्पष्ट किटान गरेको छ। यही एससीओ शीखर सम्मेलनपछि जापानी उत्पीडनकाविरुद्ध र्यालीमा सहभागी हुने ओलीको राईले जारी गरेको विज्ञप्तिमा जापानी सरकारको असन्तुष्टि प्रकट भएको थियो।
राईसँगै अर्का विवादस्पद व्यक्ति हुन् सार्कमा निर्देशकमा कार्यरत प्रथमा उप्रेती। ओलीको नाम लिएर क श्रेणीको नियोगमा मात्र सरूवा भैरहने उप्रेती ओलीलाई आफ्नो बाउको साथी भन्दै अरूलाई तर्साउने धम्काउने गर्दछिन्। ओलीकै कारण न्यूयोर्कपछि सार्क सरूवा भएकी प्रथमाको बढुवामा अनियमितता भयो भनेर सर्वोच्चमा हालेको मुद्दा र हालै सार्कको सरूवा नियमविपरित भयो भनी अर्का उपसचिव नारायण वाग्लेले दायर गरेको मुद्दा अदालतमा विचाराधीन नै छ। मुद्दा हाल्नेहरूलाई ‘बा’ र सचिव लगाएर ठेगान लगाइदिन्छु भनेर बारम्बार धम्की दिने गरेकी छिन्। जेन-जी आन्दोलनपछि पनि लाज पचाएर सार्कमै राम गरिरहने प्रथमाले बेलाबेला यो जेन्जीसेन्जी केही हैन ‘बा’ फेरि एकदुई महिनामै फर्किहाल्नु हुन्छ तब सबैलाई देखाउँछु भन्दै हिँडछिन्।
प्रथमा र सचिव राईकै आडमा मन्त्रालयमा रजगज गर्ने अर्का पात्र हुन् झापाकै यज्ञराज पौडेल। सचिवको नाम लिएर कर्मचारीहरूलाई असभ्यतापूर्वक तथानाम भन्ने मै हुँ सचिव । तिमीहरूलाई देखाउँछु भन्ने पौडेल पूर्वपरराष्ट्रमन्त्री प्रकाश शरण महतको पीए हुँदा आफ्नो लागि सरूवा नियमावली परिवर्तन गरी न्यूयोर्क सरुवा गराएका थिए। पछि प्रथमाहरूकै कारण एमाले हुँ भन्ने पौडेल नारायण खड्का परराष्ट्रमन्त्री हुँदा कांग्रेसी कर्मचारी यूनियन गठन गरेका थिए। अहिले आफू कांग्रेस नभई एमाले नै भएको र रोजीछाडी सरूवा गर्न लागिपरेका छन्।
यसै गरी मन्त्रालय बदनाम गर्न राहदानी विभागको महानिर्देशक र सचिवको पनि उत्तिक्कै भूमिका रहेको छ। जेन-जी आन्दोलनमा आन्दोलनकारीबाट घाइते भएका शेरबहादुर देउवा र आरजु राणालाई अस्पतालमै गएर मोबाइल किटको प्रयोगबाट फोटो खिची अस्पतालमै राहदानी पुऱ्याउन राहदानीका महानिर्देशक र सचिवको मुख्य भूमिका रहेको दाबी गरिएको छ। राहदानी ऐनमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीलाई कूटनीतिक राहदानी जारी गर्न सकिने व्यवस्था भए पनि महानिर्देशकले प्रस्तुत गरेको टिप्पणीमा सचिवको स्वीकृति विना राहदानी जारी गर्न सकिने छैन। त्यसमाथि मोबाइल किट राहदानी विभागको महानिर्देशकको स्वीकृति र विभागकै अधिकारीबाहेक अन्यले प्रयोग गर्न सकिने व्यवस्था छैन। मोबाइल किट लिएर अस्पतालमा फोटो खिच्न र पासपोर्ट पुराउन आरजुकी पीए तारा गौतमले सहजीकरण गरेकी भन्ने बुझ्नमा आएको छ।
तारा गौतम तिनै हुन् जो कलेज जीवनमा अखिलको कार्यकर्ता थिइन् र आफ्नो श्रीमानलाई ग्वान्जाओको महावाणिज्यदूत बनाउन आरज़ूको पीए बनेकी थिइन्। तिनै तारा गौतम आरजूको बदनाम निजी सचिव कमल रावलको निर्देशनमा काम गर्थिन् भने हाल अस्ट्रेलिया सरूवा हुन रुवाबासी गरिरहेकी छिन्।
प्रधानमन्त्री सुशीला कार्कीले आफैँसँग राखेको परराष्ट्र मन्त्रालयमा बेथितिको चरम अवस्था छ। त्यसमा पनि ओली र आरजूका विश्वासपात्रहरूबाट जोगिन नसकेकामा प्रधानमन्त्री अझै संकटमा पर्ने देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस