मालपोतका खरिदार भण्डारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं। मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएकोले त्यसैलाई बिगो मानी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार भण्डारीले जिल्ला काभ्रेपलाञ्चोक साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई सेवाग्राहीसँग रु.२,००,०००।–(दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले साविक दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरु हकवाला जग्गाधनीको नाममा छुट जग्गा दर्ता गर्ने गराउने प्रयोजनार्थ सेवाग्राहीसँग रू.२,००,०००।–(दुई लाख रुपैयाँ) घुस/रिसवत रकम माग गरी लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२,००,०००।-(दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ