गृहको प्रशासन महाशाखामा वरिष्ठ सहसचिव पराजुली, सुरक्षामा कनिष्ठ काफ्ले

काठमाडौं। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी वरिष्ठ सहसचिव कालीप्रसाद पराजुलीले पाएका छन्। काठमाडौं सिडिओ समेत भइसकेका पराजुली सम्भवतः गृह मन्त्रालयभरि कै वरिष्ठ सहसचिव हुन्।
बेदाग भएर काठमाडौं सिडिओ चलाएका पराजुलीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासन महाशाखा प्रमुख बनाएका हुन्। अख्तियार समेत बसेका पराजुलीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएर गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाइएको हो। नक्कली प्रमाणपत्र काण्डमा मुछिएका जयनारायण आचार्य गृहबाट आउट भएपछि उनको ठाउँमा पराजुलीलाई ल्याइएको हो।
गृह मन्त्रालयमा सिडिओ सरूवा गर्ने प्रशासन महाशाखा र सिडिओहरूसँग समन्वय गर्ने सुरक्षा तथा समन्वय महाशाखा महत्त्वपूर्ण मानिन्छन्। जागिरको धेरै समय राजस्वमा बिताएका र पाल्पाको मात्र सिडिओ चलाएका आनन्द काफ्लेलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाइएको छ। काफ्लेलाई यस अघिका गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा महाशाखा प्रमुख बनाएका हुन्। अर्यालको पालामा पनि उनले निरन्तरता पाएका छन्।
गृह मन्त्रालय चेन अफ कमाण्डमा चल्ने मन्त्रालय हो। सिडिओलाई समन्वय गर्ने र चलाउने सुरक्षा तथा समन्वय महाशाखामा जुनियर सहसचिवलाई खटाउन चेन अफ कमाण्ड भकित्ने गृहका अधिकारी हरू बताउँछन्। जेन-जी आन्दोलनका क्रममा पनि २३ गते काठमाडौं र सुनसरीका सिडिओसँग काफ्लेले उचित समन्वय गर्न नसकेको बताइन्छ। उनीभन्दा दर्जन बढी सहसचिव सिडिओ भएको अवस्थामा काफ्लेलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुखमा राखिराख्नु उचित नहुने गृहका पूर्वसचिवहरू बताउँछन्। लेखकले गरेको गल्ती अर्यालले सच्चाउनु पर्ने उनीहरूको सुझाव छ। गृह बुझेको ३/४ जिल्लाको सिडिओ चलाएर खारिएको र कार्य सम्पादनका शिलशिलामा खासै विवादमा नआएको सहसचिव खोजेर सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाउनु गृहमन्त्री अर्यालको हितमा छ। पराजुली जस्तै सहसचिव उक्त महाशाखा ल्याउन सके गृहको चेन अफ कमाण्ड राम्रोसँग चल्छ।
आनन्दका दाइ (काकाका छोरा)भुवन काफ्लेले समेत लेखाको उपसचिवबाट राजीनामा दिएर हिँडेकाले उनले पनि अप्ठयारो परिस्थितिमा राजीनामा दिएर नहिँड्लान् भन्न सकिन्न। रमेश लेखकका पालामा पाल्पा जाने सिडिओ शक्तिमा उदाउँदै आएका थिए। काफ्ले पाल्पाबाट गृह आएर सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बने भने पाल्पा कै सिडिओ रहेका तोयानारायण सुवेदी पर्साको सिडिओ बन्न सफल भए। सुवेदी तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारीका छिमेकी भएकै नाताले पर्साको सिडिओ बनेको चर्चा सुनिन्छ। गृह मन्त्रालयका अधिकारीहरूका अनुसार उनी आन्दोलन भनेपछि अस्पताल भर्ना हुन गइहाल्छन्।
गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखमा काठमाडौं सिडिओ भइसकेका गोविन्दप्रसाद रिजाल रहेका छन्। आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा पनि काठमाडौं कै सिडिओ चलाएका ऋषिराम तिवारी रहेका छन्। चेन अफ कमाण्डमा रिजालको विषयमा खासै प्रश्न नउठे पनि तिवारीमाथि तीनकुनेमा दमन गरेको आरोप छ। उक्त घटनाको तथ्यसत्य छानबिन हुनुपर्ने आवाज उठ्दै आएको छ। गृहमा प्रशासन र आन्तरिक व्यवस्थापनलाई एउटै महाशाखा बनाउँदा हुने देखिन्छ।
गृहको नीति, योजना तथा मूल्याङ्कन महाशाखा प्रमुखको भूमिकामा सुरेश पन्थी छन्। पन्थी बैतडी,नवलपरासी र भोजपुरको सिडिओ भएर गृह मन्त्रालयको महाशाखा प्रमुख सम्हाल्न पुगेका हुन्। काफ्लेको सिडिओमा पन्थीको जति पनि अनुभव छैन।
गृह मन्त्रालयको कानुन महाशाखामा भने पुसमा घर जान लागेका भरतमणि रिजाल रहेका छन्। उनी ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश जान लागेकाले उनी अवकाश भएपछि मात्र कानुन महाशाखामा अर्काे सहसचिव ल्याउन उपयुक्त हुन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस