परराष्ट्रमा खरिदारबाट लोकतान्त्रिक बढुवा हुँदै उपसचिव भएका भुसाल र कार्की घर गए


काठमाडौं। परराष्ट्र सेवामा खरिदारबाट सेवा प्रवेश गरेर लोकतान्त्रिक बढुवा हुँदै उपसचिव भएका खिमानन्द भुसाल र जीतबहादुर कार्की घर गए गएका छन्। उपसचिवमा बढुवा भएको छोटो समयमै ५८ वर्ष लागेर उपसचिवद्वय भुसाल र कार्की घर गएका हुन्। उनीहरू दुबैजना असोज महिनामै घर गएका छन्।

२०२४ असोज १ गते गुल्मी बाझकटेरीका जन्मिएका खिमानन्द भुसाल विशिष्टकृत दाबी गरिएको परराष्ट्र सेवाको खरिदारमा सेवा प्रवेश गरेका थिए। २०४५ असोजमा प्रशासन सेवा, कुटनैतिक समूहको खरिदारबाट सेवा प्रवेश गरेका भुसाल बढुवाबाटै परराष्ट्रको नायब सुब्बा, शाखा अधिकृत र उपसचिव बन्न सफल भए। उनी परराष्ट्र सेवाबाट दसैँ अगाडि नै बिदा भइसकेका छन्।

२०६४ साल माघमा विशेष बढुवा मार्फत परराष्ट्र सेवाको नायब सुब्बामा भएका भुसाल २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृतमा बढुवा भएका थिए। शाखा अधिकृत भएको ९ वर्ष नपुग्दै भुसाल अधिकृतबाट उपसचिव बन्न सफल भएका हुन्। प्रशासन र लेखा समूहमा शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुन १५ वर्ष लाग्छ। ती समूहमा खरिदारबाट छिरेर उपसचिव बन्नु फलामको चिउरा चपाउनु सरह हो। तर, आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा परराष्ट्र सेवामा दरबन्दीको ‘बाढी’ ल्याइदिएपछि भुसाल ८ वर्षमै शाखा अधिकृतबाट उपसचिव बन्न सफल भएका हुन्।

प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका भुसाल खरिदार भएपछि बेल्जियम र ल्हासा, नासुमा बढुवा भएपछि मलेसिया बसेका थिए। शाखा अधिकृतमा बढुवा भएपछि रसिया र मलेसिया बसे। प्रदेश प्रमुखको कार्यालय रुपन्देही समेत बसेर काम गरेका भुसाल करिब ३५ वर्ष कुटनैतिक सेवामा बिताएर सेवानिवृत्त भएका छन्।

२०२४ असोज १८ गते गुल्मीको घमिरमा जन्मिएका जीतबहादुर कार्की पनि खरिदारबाट परराष्ट्रमा छिरेर लोकतान्त्रिक बढुवा हुँदै उपसचिव भएर घर गएका छन्। २०४५ साल असोजमा तत्कालीन नेपाल प्रशासन सेवा, कुटनैतिक समूहको खरिदारबाट सेवा प्रवेश गरेका हुन्। उनी २०६३ कार्तिकमा कुटनैतिक सेवा कै नायब सुब्बामा बढुवा भएका थिए। २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृत भएका कार्की ८ वर्षमै उपसचिव बन्न सफल भए। त्यो पनि लेखेर होइन नासु र अधिकृत जस्तै उनी लोकतान्त्रिक बढुवाबाट उपसचिव भएका हुन्।

खरिदारबाट छिरेर ३७ वर्ष परराष्ट्रमा सेवा गरेका कार्की परराष्ट्रमा दरबन्दीको ‘बाढी’ आएपछि लोकतान्त्रिक बढुवा मार्फत नै उपसचिव भएर घर जान सफल भएका छन्। खरिदारमा बेल्जियम बसेका कार्कीले नासु भएपछि मस्को र वासिङ्टन डिसीतिर मस्ती मारे। शाखा अधिकृतमा बढुवा भएपछि साउदी अरब र जापानमा जमेका कार्की उपसचिव भएपछि भने परराष्ट्रमै बसेर घर गएका हुन्। कानुनमा प्रविणता प्रमाणपत्र तह (आईएल)सम्म मात्र अध्ययन गरेका उनी खरिदारबाट छिरेर उपसचिवको स्वाद समेत चाखेर अनिवार्य अवकाशमा गएका छन्। परराष्ट्रका उपसचिव कार्की ५८ वर्ष लागेर दसैँ बिदासँगै सेवामा नफर्किने गरी घर गएका हुन्।

परराष्ट्रमा दरबन्दीको ‘बाढी’ नआएको भए कार्की शाखा अधिकृतबाट घर जाने थिए। राज्यलाई अनावश्यक व्यभार पर्ने गरी आरजुको कृपा हुँदा भुसाल र कार्की उपसचिवमा छोटो समयम काम गरेर अनिवार्य अवकाशमा गएका हुन्। बदनाम आरजुले अनावश्यक दरबन्दी थपेर परराष्ट्र सेवालाई पनि दुर्गन्धित बनाइदिएको टिप्पणी हुन थालेको छ।

परराष्ट्र सेवाको सुब्बामा नाम निकालेर शाखा अधिकृत हुँदै उपसचिवमा गरी दुई तह बढुवा हुनेमा चक्रबहादुर सुवेदी, बाबुराम सिग्द्याल, ओमकुमार भण्डारी, निर्मलप्रसाद भट्टराईलगायत रहेका छन्।  परराष्ट्रमा नासुबाट सेवा प्रवेश गरेर लोकतान्त्रिक बढुवाबाटै सहसचिव हुनेमा पारस पण्डित र प्रकाश अधिकारी पर्छन्। उनीहरू नासुको परीक्षा पास गरेर बढुवाबाटै राजदूत हुने योग्यता पुऱ्याउन सफल भएका हुन्।

आरजुले जथाभावी दरबन्दी थप्दा ‘माछाबजार’ बनेको परराष्ट्र सेवा निकै बदनाम भएको छ। यस्तो बदनामी हटाउन तत्काल दरबन्दी कटौती गर्ने र खरिदार र सुब्बाबाट छिरेर लोकतान्त्रिक बढुवाबाटै उपसचिव, सहसचिव बन्ने विकृत परिपाटीको अन्त्य गर्न जरूरी देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #खरिदारबाट उपसचिव, #खिमानन्द भुसाल, #जीतबहादुर कार्की, #परराष्ट्र उपसचिव, #परराष्ट्र माछाबजार, #बदनाम परराष्ट्र सेवा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ