डा. मिश्रादेखि राजीनामा दिएर भागेका लेखा उपसचिव भुवन काफ्लेसम्म भ्रष्टाचारमा डामिए, १४ करोड बढी बिगो

काठमाडौं। स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक (हाल अतिरिक्त सचिवबाट राजीनामा) डा. संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। १४ करोड बढी बिगो मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मिश्रासहित हालै राजीनामा दिएर भागेका लेखा उपसचिव भुवन काफ्ले पनि भ्रष्टाचार मुद्दामा डामिएका छन्। दुई छोरा अमेरिकामा सेटल गराएर उतै सेटल हुन राजीनामा दिएका काफ्ले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन्।
लेखापालबाट सरकारी सेवामा छिरेका काफ्लेले राजीनामा दिएपछि पेन्सन, औषधि उपचार, सञ्चित बिदा, संचयकोष, नागरिक लगानी कोष, बिमा करिब एक करोड पैसा झिक्न पाउनेछन्। जागिर छाडेपछि नेपालमा अकृत सम्पत्तिमा पनि खासै छानबिन नहुने भएपछि काफ्लेले सुरक्षित अवतरण गरेका छन्। भ्रष्टाचार मुद्दा लाग्ने सुईको पाएका चतुर स्याङ्जाली काफ्लेले राजीनामा दिएर रातारात ती सबै पैसा निकालिसकेको पाइन्छ।
स्वास्थ्य सेवा विभागमा २ वर्ष बसेका लेखा उपसचिवले ३ देखि ५ करोड रुपैयाँ ‘कमाउने’ कुरा ओपन सेक्रेट जस्तै छ। अख्तियारले एउटा मुद्दा दायर गर्दा कायम गरेको बिगोबाटै त्यो कुराको पुष्टि हुन्छ। काफ्ले साढे २ वर्ष स्वास्थ्य सेवा विभागमा बसेर कृषि तथा पशुपंक्षी मन्त्रालयमा ‘कृषि क्रान्ती’ गर्न पुगेका थिए। त्यसैबीचमा अख्तियार लागेपछि ‘कृषि क्रान्ती’लाई अधुरै छाडेर लापत्ता भएका छन्।राजीनामा दिएपछि काफ्लेलाई विदेशमा भाग्न पनि सहज हुन्छ। त्यसैले काफ्ले भ्रष्टाचार मुद्दा दर्ता हुने छनक पाएपछि राजीनामा दिएर हिँडेका हुन्।
अख्तियारले मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिदको क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो। उक्त भ्रष्टाचार मुद्दामा १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।
मिश्रा, काफ्लेसहित तत्कालीन विभागका व्यवस्थापन महाशाखा प्रमुख श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरासिया, विवेककुमार लाल, सिता घिमिरे, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, तिलकराम ढकाल, अशिष चौहान, पध्या मिश्र, सञ्जयकुमार साह र सुन्दर भुसाललाई प्रतिवादी बनाइएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस