अपडेट हुन नसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइट: अवकाश भएका र सरूवा भएर गएका सचिवहरू पुरानै अड्डामा


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कति भद्रगोल छ भन्ने कुरा उक्त कार्यालयले सञ्चालन गरिरहेको वेबसाइटले बताउँछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट हेर्दा अवकाशमा गएका र सरूवा भएका सचिवहरू पुरानै अड्डामा देखिन्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी हेर्न सहसचिवको दरबन्दी छ। प्रधानमन्त्री कार्यालयमा आईटीका सहसचिव सुभाष ढकाल छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीका विश्वासपात्र ढकाल ओली र अली सत्ताबाट हटेपछि मुर्छित बनेका छन्। नभए उनले प्रधानमन्त्री कार्यालयको वेबसाइट किन अपडेट गरेनन् त? ओलीको जोडबलमा मुख्यसचिव बनेका एकनारायण अर्यालको पनि होसहवास उडेको हुनुपर्छ। विद्युतीय सुशासनको कुरा गर्ने मुख्यसचिव अर्याल प्रधानमन्त्री कार्यालयको वेबसाइट अपडेट नहुँदा पनि वेखबर देखिन्छन्। प्रधानमन्त्री कार्यालयको एउटा वेबसाइट अपडेट गराउन नसक्ने मुख्यसचिव अर्यालले प्रशासन सुधार गर्लान् भन्नु बेकारको कुरा हो।

स्वास्थ्य लाइभले यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा गृहसचिव गोकर्णमणि दुवाडी नै छन्। राष्ट्रिय योजना आयोगका पुगेका सचिव दुवाडीको नाम गृहसचिवमा र रक्षा सचिव बनेका सुमनराज अर्यालको नाम राष्ट्रिय योजना आयोगको सचिवमा रहेको छ।

रक्षा सचिवबाट गृहसचिव बनेका रामेश्वर दंगाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अनुसार रक्षा सचिव कै भूमिकामा छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा हेर्ने सचिव सुरेश आचार्य अवकाशमा गएको दुई महिना हुन लागिसक्यो। ऊर्जामा चिरञ्जीवी चटौत सचिवमा बढुवा भएर जिम्मेवारी सम्हाल्न आइपुगेका छन्। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिव चटौतलाई चिन्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा आचार्य नै ऊर्जा सचिव छन्।

अर्थ मन्त्रालयको राजस्व हेर्ने सचिव दिनेशकुमार घिमिरे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेको धेरै भयो। वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएर हिँडेको पनि दुई महिना नाघिसक्यो। तर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा उनै सुवेदी छन्। प्रधानमन्त्री कार्यालयको वेबसाइट अनुसार अर्थ मन्त्रालयको राजस्व सचिवमा दिनेशकुमार घिमिरे नै यथावत् छन्।

न्याय परिषद्का सचिव यमबहादुर बुढा मगर उच्च अदालतको न्यायाधीश भएर गएपछि जितेन्द्रबाबु थपलिया सचिवमा बढुवा भएर न्याय परिषद्मा पदस्थापन भएका छन्। तर, उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले चिन्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मगर नै सचिवको भूमिकामा छन्।

खगेन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशको प्रमुख सचिवबाट अवकाशमा गएको पनि दुई महिना हुन लागिसक्यो। गण्डकी प्रदेशको प्रमुख सचिव बनेर डण्डुराज घिमिरे गएका छन्। घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइले चिन्दैन भने गण्डकी प्रमुख सचिवमा खगेन्द्रप्रसाद सुवेदी कै नाम रहेको छ।

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल अवकाशमा गएपछि उद्धवप्रसाद पुडासैनी नायब महान्यायाधिवक्तामा बढुवा भएका छन्। पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गरेर त्यहाँ कार्यरत सचिव सूर्यराज दाहाललाई नायब महान्यायाधिवक्ताको भूमिकामा महान्यायाधिवक्ताको कार्यालयमा सरूवा गरिएको छ। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले अवकाशमा गइसकेका रिजाललाई नायब महान्यायाधिवक्ता कै भूमिका राखेको पाइन्छ। दाहाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव कै भूमिकामा छन् भने पुडासैनीको नामोनिशान देखिँदैन।

जेन-जी पुस्ताको आन्दोलनपछि सरकार र प्रधानमन्त्री फेरिएका छन्। केपी शर्मा ओलीको ठाउँमा सुशिला कार्की आएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि कार्कीलाई नै प्रधानमन्त्री बनाएको छ। तर, मुख्यसचिव पुरानै रहँदा प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सरूवा भएका र अवकाशमा गएका सचिवहरू पुरानै अड्डामा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ