सदाबहार सिडिओ उमेश ढकाल ‘क’ वर्गको चौथो जिल्ला भक्तपुरमा पुगे, सहसचिव भएपछि अधिकारीलाई पनि चौथो कमाण्ड
काठमाडौं। सिडिओ सरूवासम्बन्धी कार्यविधिले काभ्रेपलाञ्चोक, भक्तपुर, सुनसरी, पर्सा, झापालगायतका जिल्लालाई ‘क’ वर्गका राखेको छ। गृह मन्त्रालयको पछिल्लो सरूवामा कार्यविधि मिचेर उमेशकुमार ढकाललाई ‘क’ वर्गको जिल्ला काभ्रेपलाञ्चोकबाट ‘क’ वर्ग कै जिल्ला भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाइएको छ। यसअघि सुनसरी र पर्सा जस्ता आकर्षक जिल्लाको कमाण्ड सम्हालिसकेका ढकाललाई ‘क’ वर्गको जिल्ला काभ्रेपलाञ्चोकबाट भक्तपुरको सिडिओमा पठाएर कार्यविधि लत्याइएको हो।
त्यस्तै झापाका सिडिओ गोपालकुमार अधिकारी पनि ‘क’ वर्गको जिल्ला काभ्रेपलाञ्चोकमा सिडिओ भएर पुगेका छन्। सहसचिव भएपछि गृह मन्त्रालय छिरेका इलामेली अधिकारी कञ्चनपुर, सर्लाही, झापा हुँदै चौथो जिल्ला काभ्रेपलाञ्चोकमा सिडिओको कमाण्ड सम्हाल्न पुगेका हुन्।
नेपाली कांग्रेससँग निकट मानिने उमेशकुमार ढकाल सदाबहार सिडिओ हुन्। उपसचिव र सहसचिवमा गरी १ दर्जन जिल्लाको सिडिओ सम्हालिसकेका ढकाल ‘क’ वर्गको जिल्ला काभ्रेपलाञ्चोकबाट भक्तपुरमा ‘जम्प’ हान्न सफल भएका छन्। सहसचिव कै हैसियतमा सिडिओ भएको बेला यसअघि पनि ढकालले ‘क’ वर्गको जिल्ला सुनसरीबाट त्योभन्दा आकर्षक जिल्ला पर्साको सिडिओ पड्काउन सफल भएका थिए। अहिले पनि उनले त्यो नजिर दोहोऱ्याएका छन्।
२०७६ माघमा सहसचिवमा बढुवा भएका ढकाल सहसचिव भएलगत्तै सिन्धुपाल्चोकको सिडिओ भएका थिए। उनले २०७६ फागुन २४ गतेदेखि २०७७ फागुन १५ गतेसम्म करिब एक वर्ष सिन्धुपाल्चोकको सिडिओ चलाए। त्यसपछि उनी ‘क’ वर्गको जिल्ला सुनसरीकोसिडिओ हुन पुगे। ढकालले २०७७ फागुन २३ गतेदेखि २०७८ असोज २४ गतेसम्म ६ महिना सुनसरीको सिडिओ चलाए। ढकाल ‘ख’ वर्गको जिल्ला सिन्धुपाल्चोकको सिडिओ एक वर्ष चलाएर ‘क’ वर्गको सुनसरी जानु स्वभाविक नै हो। तर, त्यसपछि भने ढकाल सुनसरीबाट अस्वभाविक र अनुचित तवरले पर्साको सिडिओ बनेर गएको पाइन्छ। ढकाल २०७८ असोज २५ गतेदेखि २०७९ माघ १० गतेसम्म करिब १६ महिना पर्साको सिडिओमा जमेर बसेका थिए। अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि उनी गृह छाडेर पर्साको सिडिओबाट सामान्य प्रशासन मन्त्रालय छिरेका थिए।
पर्साको सिडिओ हुँदा राजकुमार गुप्तालाई भन्सारमा बदमासी गर्न नदिएर चर्चामा आएका ढकाल उनै गुप्ता सामान्य प्रशासन मन्त्री भएपछि सामान्य छाडेर गृहमा फर्किए। मन्त्रीको सपथ खाएर आएका गुप्ताले ढकाललाई देख्नेबित्तिकै सिडिओ’साप तपाईंको यता होइन् गृहतिर हो भन्न भ्याए। त्यसपछि उनको सरूवा गृहमा भयो। गृहमा फर्किएपछि फेरि २०८१ असोज १४ गतेदेखि काभ्रेपलाञ्चोकको सिडिओमा हाजिर भएका ढकाल १३ महिनापछि भक्तपुर सरूवा भएका छन्। ढकाल गृह कै ‘क्याडर’ भएपनि लगातार ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्गको जिल्लामा सिडिओ बनाएर पठाउनु कानुन, कार्यविधि र सुशासनमाथिको ठाडो प्रहार हो।
ढकाल सहसचिवमा मात्र होइन उपसचिव हुँदा पनि आधा दर्जन जिल्लाको सिडिओ भएका थिए। ढकाल मुस्ताङ, दैलेख, नुवाकोट, धादिङ, महोत्तरी र पाल्पाको सिडिओ भएका थिए। उनी पाल्पाको सिडिओ हुँदाहुँदै २०७६ माघमा सहसचिवमा बढुवा भएर सिन्धुपाल्चोकको सिडिओ बनेर गएका हुन्।
ढकाल उपसचिव हुँदा २०६६ साउन ३२ गतेदेखि २०६७ पुस ८ गतेसम्म करिब डेढ वर्ष मुस्ताङको सिडिओ चलाउन सफल भएका थिए। उनी २०६९ असोज ५ गतेदेखि माघ ११ गतेसम्म ४ महिना दैलेखको सिडिओ भए। त्यसपछि ढकाल २०७२ असार २ गतेदेखि २०७२ फागुन ९ गतेसम्म ८ महिना बढी नुवाकोटको सिडिओ भए।
२०७३ मंसिर २२ गतेदेखि २०७४ जेठ २१ गतेसम्म ६ महिना धादिङको सिडिओ चलाएका ढकाल २०७५ असार २७ गतेदेखि २०७६ भदौ १४ गतेसम्म करिब १५ महिना महोत्तरीको सिडिओ भए। त्यसपछि पाल्पाको सिडिओ भएका ढकाल ५ महिनामै सहसचिवमा बढुवा भएर सिन्धुपाल्चोकको सिडिओ बन्ने सौभाग्य प्राप्त गरे।
उपसचिव हुँदा सिडिओ खाइरहेका ढकालले सहसचिव हुँदा पनि त्यसलाई निरन्तरता दिएका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकले विश्वास गरेर काभ्रेपलाञ्चोकको सिडिओ बनाएका ढकाललाई हालका गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुर सारेका हुन्। काभ्रेपलाञ्चोकबाट ‘ख’ वर्गको बारा जिल्ला मागेका ढकालले कार्यविधिविपरीत ‘क’ वर्गको जिल्ला भक्तपुर कै सिडिओ पाउन सफल भएका छन्। तर, यसले गृह प्रशासनमा भने सुशासनको धज्जी उडेको छ।
ढकाल मात्र होइन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर झापाको सिडिओ बनाएका गोपालकुमार अधिकारीलाई पनि ‘क’ वर्ग कै काभ्रेपलाञ्चोकको सिडिओ बनाइएको छ। २०७८ मा सहसचिव भएका अधिकारी लगातार सिडिओ बनिरहेका छन्। कञ्चनपुर, सर्लाही झापा हुँदै उनी काभ्रेपलाञ्चोकको सिडिओ बन्न सफल भएका हुन्।
सहसचिव हुनुभन्दा अघि बाजुराको सिडिओ बनेका नेकपा एमालेसँग निकट गोपालकुमार अधिकारी २०८० असार ७ गतेदेखि २०८१ जेठ २० गतेसम्म करिब १४ महिना कञ्चनपुरको सिडिओ भए। त्यसपछि २०८१ जेठ २५ गतेदेखि पुस २३ गतेसम्म ७ महिना सर्लाहीको सिडिओ चलाएका अधिकारी त्यसपछि ‘क’ वर्गको जिल्ला झापामा सिडिओ भएर जान सफल भए। २०८१ पुस २६ गतेदेखि झापाको कमाण्ड सम्हाल्न पुगेका अधिकारी १० महिनापछि तराईबाट काभ्रेपलाञ्चोक पहाड उक्लिएका छन्। अधिकारी ३ तराई हानेर कार्यविधिविपरीत काभ्रेपलाञ्चोकको सिडिओ बनाइएका हुन्। अधिकारी सिडिओको पहिलो पोस्टिङमै कञ्चनपुर पुगेका थिए। अधिकारी त्यहाँबाट सर्लाही हुँदै झापा पुग्दासम्म कार्यविधिको पालाना भएको देखिन्छ। झापाबाट काभ्रेपलाञ्चोक पठाउने बेलामा भने गृह मन्त्रालयको कार्यविधिले कार्य गर्न सकेको देखिँदैन।
ढकाल र अधिकारीलाई गृह मन्त्रालयको कार्यविधिले छुन सकेन। कार्यविधिलाई हावा खुवाएर सिडिओ बनेका उनीहरूले सुशासनलाई पानी पिलाउने खतरा देखिन्छ। सिडिओ सरूवा कार्यविधिविपरीत हस्ताक्षर गरेर गृहमन्त्री ओमप्रकाश अर्याल चुकेका छन्। जेन-जी आन्दोलनको जगमा बनेको सरकारले पुरानै ढर्रा र विधिलाई चुनौती दिएर शासन सत्ता सञ्चालन गर्दा फेरि जेन-जी पुस्तामा वितृष्णा पैदा हुने निश्चित छ। यस्ता कुरामा गृहमन्त्री अर्यालको ध्यानाकर्षण हुन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #उमेशकुमार ढकाल, #गोपालकुमार अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस