प्रधानमन्त्री कार्यालय वेबसाइट अपडेट गर्न खोज्दा झनै चिप्लियो


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अपडेट नभएको समाचार स्वास्थ्य लाइभमा प्रकाशित भएपछि अपडेट गर्न खोजेको देखिन्छ। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गृहसचिव, रक्षा सचिव, राष्ट्रिय योजना आयोगका सचिवको नाम अपडेट गरेपनि अवकाश भइसकेका केही सचिवको नाम थपेको पाइन्छ।

अपडेट भएको वेबसाइटमा पनि अवकाश भइसकेका महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) गोपालप्रसाद रिजाललाई अझै कायम राखिएको छ।

बेपत्ता पारिएका छानबिन आयोगमा उद्धवप्रसाद पुडासैनी सचिव रहेपनि वेबसाइटमा सूर्यराज दाहाललाई उक्त आयोगको सचिवमा कायम राखिएको छ। दाहाल हाल महान्यायाधिवक्ता कार्यालयको नायब महान्यायाधिवक्ताको भूमिकामा छन्।

न्याय परिषद्को सचिवमा जितेन्द्रबाबु थपलिया आइसकेपनि अपडेट गर्दा उच्च अदालतको न्यायाधीश भइसकेका यमबहादुर बुढामगरलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेवसाइटले सचिव देखाउँछ।

संसद् सचिवालयको सचिवमा अघिल्लो आर्थिक वर्षमै अवकाश भइसकेका सुदर्शन खड्कालाई सचिव जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सुरजकुमार दुराको नाम हटाएर खड्काको नाम राखिएको हो। दुराको अस्तित्व नै नामेट पारिएको छ।

स्वास्थ्य लाइभले अघिल्लो समाचार तयार पार्दासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा गृहसचिव गोकर्णमणि दुवाडी थिए। राष्ट्रिय योजना आयोगका पुगेका सचिव दुवाडीको नाम गृहसचिवमा र रक्षा सचिव बनेका सुमनराज अर्यालको नाम राष्ट्रिय योजना आयोगको सचिवमा रहेको छ। उक्त नाम भने अपडेट गरिएको छ।

रक्षा सचिवबाट गृहसचिव बनेका रामेश्वर दंगाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अनुसार रक्षा सचिव कै भूमिकामा थिए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा हेर्ने सचिव सुरेश आचार्य अवकाशमा गएपछि ऊर्जा सचिवको चिरञ्जीवी चटौत रहेका थिए। उनलाई भने वेबसाइटले बल्ल चिनेको छ।

अर्थ मन्त्रालयको राजस्व हेर्ने सचिव दिनेशकुमार घिमिरे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेपनि उनको नाम राजस्व सचिवमै थियो। अहिले घिमिरेको नाम वित्त आयोगको सचिवमा राखेर भरतमणि सुवेदीले नाम राखिएको छ।

खगेन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशको प्रमुख सचिवबाट अवकाशमा गएको दुई महिना हुन लाग्दा पनि गण्डकी प्रदेशको प्रमुख सचिव उनकै नाम थियो। अहिले भने डण्डुराज घिमिरेलाई गण्डकी प्रमुख सचिव बनाएर खगेन्द्रप्रसाद सुवेदी नाम हटाइए को छ। अपडेट गर्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले सही दिशा पौल्याउन सकेको देखिँदैन।

सचिवमा बढुवा भएका कृष्णप्रसाद काप्रीको नाम पनि वेबसाइटमा खोज्दा भेटिदैन। ‘मर्ज’ भइसकेको आपूर्ति मन्त्रालयको दरबन्दी देखाएर जबर्जस्ती सचिवमा बढुवा गराइएकाले हुनुपर्छ काप्रीको नामोनिशान भेटिदैन।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ