पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी लामिछानेलाई दिने तयारी
काठमाडौं। सहसचिवका लागि आकर्षक मानिने पर्यटन विभागको महानिर्देशक रामकृष्ण लामिछानेलाई दिने तयारी भएको छ। विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा भएपछि रिक्त स्थानमा लामिछानेलाई पठाउने तयारी भइरहेको हो। अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालिरहेकी थिइन्। उनको कार्य व्यस्तताका कारण विभागको महानिर्देशक तोक्न ढिलाई भइरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
पर्यटन मन्त्रालयबाट विभागका महानिर्देशकका लागि लामिछानेको नाममा टिप्पणी उठेर फाइल अघि बढिसकेको छ। एक/दुई दिनभित्रै लामिछानेलाई महानिर्देशकको जिम्मेवारी तोकिने सम्भावना देखिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रशासन तथा योजना महाशाखा एवं प्रवक्ताको जिम्मेवारीमा रहेका लामिछाने विभागको नयाँ महानिर्देशक बन्न लागेका हुन्।
२०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका कास्की लामिछाने, वै कार्यालय ताहचलको प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख भएर काम गरिसकेका छन्।
गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका भित्रिएका सहसचिव जयनारायण आचार्य यसअघि नै विभागको महानिर्देशक भइसकेका छन्। उनी पर्यटन विभाग कै महानिर्देशक हुँदा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए। यद्यपि उनले पछि अदालतबाटै जागिर पुनर्वहाली गराउन सफल भए। अहिले उनै आचार्य पर्यटन मन्त्रालय भित्रिएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस