प्रधानमन्त्री कार्यालयको वेबसाइटमा दोस्रो अपडेट पनि ‘फेल’ खायो


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अपडेट नभएको समाचार स्वास्थ्य लाइभमा प्रकाशित भएपछि उक्त वेबसाइट दुईपटक अपडेट गरिएको छ। तर, दुबै अपडेट फेल खाएको हो। संघीय संसद सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुराको नाम थियो। स्वास्थ्य लाइभले गृह, राजस्व, रक्षासहित विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको नाम अपडेट नभएको तथ्य उजागर गरेको थियो। तर, वेबसाइटमा भएको दूराको नाम हटाएर अवकाशमा गइसकेका सुदर्शन खड्काको नाम राखियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयक  वेबसाइट दोस्रोपटक अपडेट गर्दा पनि दुराको ठाउँमा खड्कालाई नै संघीय संसद सचिवालयका सचिवमा कायम राखिएको छ। यसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अपडेट कति झूर र आउटडेटेड रहेछ भन्ने प्रस्ट हुन्छ।

स्वास्थ्य लाइभले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा गृहसचिव, रक्षा सचिव, राष्ट्रिय योजना आयोगका सचिवको नाम अपडेट गरेको थियो। स्वास्थ्य लाइभले पहिलो समाचार तयार पार्दासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा गृहसचिव गोकर्णमणि दुवाडी थिए। राष्ट्रिय योजना आयोगका पुगेका सचिव दुवाडीको नाम गृहसचिवमा र रक्षा सचिव बनेका सुमनराज अर्यालको नाम राष्ट्रिय योजना आयोगको सचिवमा रहेको थियो। उक्त नाम भने पहिलो अपडेटमै सच्चाइएको थियो।

रक्षा सचिवबाट गृहसचिव बनेका रामेश्वर दंगाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट अनुसार रक्षा सचिव कै भूमिकामा थिए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा हेर्ने सचिव सुरेश आचार्य अवकाशमा गएपछि ऊर्जा सचिवको चिरञ्जीवी चटौत रहेका थिए। उनलाई प्रधानमन्त्री कार्यालयको वेबसाइटले पहिलो अपडेटमा मात्र  चिनेको थियो।

अर्थ मन्त्रालयको राजस्व हेर्ने सचिव दिनेशकुमार घिमिरे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेपनि उनको नाम राजस्व सचिवमै थियो। पहिले अपडेटमा घिमिरेको नाम वित्त आयोगको सचिवमा राखेर भरतमणि सुवेदीले नाम हटाइएको थियो। पहिलो अपडेटमा बेपत्ता पारिएका छानबिन आयोगमा उद्धवप्रसाद पुडासैनी सचिव रहेपनि सूर्यराज दाहाललाई उक्त आयोगको सचिवमा कायम राखिएको थियो । दाहाल हाल महान्यायाधिवक्ता कार्यालयको नायब महान्यायाधिवक्ताको भूमिकामा छन्। दोस्रो अपडेटमा भने उक्त कुरा सच्चिएको छ।

न्याय परिषद्को सचिवमा जितेन्द्रबाबु थपलिया आइसकेपनि अपडेट गर्दा उच्च अदालतको न्यायाधीश भइसकेका यमबहादुर बुढामगरलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेवसाइटले सचिव देखाएको थियो। पहिलो अपडेटमा थपलियाको ठाउँमा मगर कै नाम रहेपनि दोस्रो अपडेटमा बल्ल सच्याएको पाइन्छ।

खगेन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशको प्रमुख सचिवबाट अवकाशमा गएको दुई महिना हुन लाग्दा पनि गण्डकी प्रदेशको प्रमुख सचिव उनकै नाम थियो। पहिलो अपडेटमा डण्डुराज घिमिरेलाई गण्डकी प्रमुख सचिव बनाएर खगेन्द्रप्रसाद सुवेदीको नाम हटाइएको थियो। पहिलो अपडेटमा सचिवमा बढुवा भएका कृष्णप्रसाद काप्रीको नाम वेबसाइटमा राखिएको थिएन। अहिले उनको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले दोस्रो अपडेटमा पनि  ‘फेल’ खानु दुःखद कुरा हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ