सवारी अङ्गभङ्ग ‘केस’मा इनरूवा ६ का वडाध्यक्ष सुमन थापा प्रहरी नियन्त्रणमा
सुनसरी। लामो समयदेखि भूमिगत बनेका इनरूवा नगरपालिका वडाध्यक्ष सुमन थापा प्रहरी नियन्त्रणमा आएका छन्। सवारी साधन चलाएर ‘हिट एन्ड रन’मा लापत्ता थापा सरकार फेरिएसँगै प्रहरी नियन्त्रणमा आएका हुन्।
मोटरसाइकलमा सवार भोजपुरकी देवीका खनाललाई इटहरीमा वडाध्यक्ष थापाले चलाएको कारले ठक्कर दिएको थियो। थापाको कारले ठक्कर दिएकी खनाल गम्भीर घाइते भएकी थिइन्। आफूले चलाएको गाडीले ठक्कर दिएर अङ्गभङ्ग भएपछि वडाध्यक्ष थापा एकाएक भूमिगत भएका थिए। अहिले भने उनी प्रहरी नियन्त्रणमा आइसकेको सुनसरी प्रहरीले जनाएको छ।
अदालतबाट पक्राउ पूर्जी समेत जारी भएका वडाध्यक्ष थापा तत्कालीन गृहमन्त्री रमेश लेखकको संरक्षणमा कानुनी दायाराभन्दा बाहिरै रहन सफल भएका थिए। जेन-जी आन्दोलनले लेखक सत्ताच्यूत भएपछि थापाको पनि दुर्दशा सुरू भयो। लुकीलुकी दसैँ, तिहार र छठ मनाएका थापा अहिले भने प्रहरीको जालमा परेका छन्।
सुनसरी प्रहरीका अनुसार २०८१ फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१-०२-०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलको पछाडि रहेकी खनाल गम्भीर घाइते भएकी थिइन्। त्यसपछि लामो समय भूमिगत बनेका वडाध्यक्ष थापा बल्ल कानुनी दायरामा आएका छन्। हरेक काण्डमा मुछिएर जोगिदै आएका वडाध्यक्ष थापा जेन-जी सरकार आएपछि भने फेला परेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस