सहसचिवको बढुवा खान गृह र सामान्य प्रशासन मन्त्रालयमा थपिएको आन्तरिक व्यवस्थापन महाशाखा


काठमाडौं। अन्य मन्त्रालयमा प्रशासन महाशाखाले नै हेर्दै आएको आन्तरिक व्यवस्थापनको काम गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने छुट्टै महाशाखा बनाएर सहसचिवको व्यवस्थापन गरिएको छ। सहसचिवको बढुवा खान गृह र सामान्य प्रशासन मन्त्रालयमा छुट्टै आन्तरिक व्यवस्थापन महाशाखा खडा गरिएको हो। गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सहसचिव ऋषिराम तिवारी रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा भने निता पोखरेल अर्यालले सम्हालिरहेकी छिन्।

मुलुक संघीयतामा गइसकेको र दुबै मन्त्रालयको कार्यबोझ घटिसकेको अवस्थामा पनि केही थान सहसचिवलाई व्यवस्थापन गर्न आन्तरिक व्यवस्थापन महाशाखा ‘सौता’ हालिएको छ। कर्मचारी प्रशासनमा व्यक्तिगत स्वार्थपूर्तिका लागि कसरी विकृत अभ्यास र कार्य हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो।

जेन-जी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार प्रशासन सुधार र रूपान्तरणका लागि सरकारले आन्तरिक व्यवस्थापनलाई प्रशासन महाशाखामा गाभ्न तत्काल कदम चाल्नुपर्ने देखिन्छ। प्रशासनबाट फुटाएर बनाइएको गृह र सामान्यको आन्तरिक व्यवस्थापन महाशाखा आवश्यकता र औचित्यका आधारमा भन्दा पनि निहीत स्वार्थ खडा गरिएको हो। सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री रामेश्वर खनालले प्रशासन सुधारको अभियानको सुरूवात आफैले सम्हालेको सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखालाई खारेज गरेर गर्नुपर्छ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाले आर्थिक प्रशासन, कार्यालय व्यवस्थापन, आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन र विभूषण सम्बन्धी काम हेर्दै आएको छ। सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाले आन्तरिक व्यवस्थापन, आर्थिक प्रशासन, कानुन तथा फैसला कार्यान्वयन र सूचना प्रविधिको काम हेर्दै आएको छ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन, उद्योग मन्त्रालय, वन मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार मन्त्रालय, भूमि मन्त्रालय मन्त्रालयमा प्रशासन महाशाखाले नै ति काम गर्दै आएका छ। भौतिक, सहरी विकास, ऊर्जा, खानेपानी, वन, कृषि जस्ता अधिकांश मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापनको काम एउटै महाशाखाले हेर्दै आएको छ। समान्यकोभन्दा कार्यबोझ पनि ति मन्त्रालयको बढी देखिन्छ। तर, सामान्य र गृहमा प्रशासन र आन्तरिक व्यवस्थापनका नाममा छुट्टै महाशाखा खडा गरेर राज्यकोषमाथि अनावश्यक व्यभार थप्ने काम भएको पाइन्छ।

निर्वाचन जति कै सुशासन पनि ‘जेन-जी’ सरकारको मुख्य कार्यभार भएकाले गृह र सामान्यको असामान्य गतिविधिलाई सुधारेर जेन-जी पुस्तालाई सुधारको आभाष दिलाउन सक्नुपर्छ। गृह र सामान्यम महाशाखा खारेजी र गाभ्ने काम तुरून्त प्रारम्भ गर्न जरूरी छ। जेन-जी र समयको माग नै यही हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ