सरूवा पेलानमा परेका सहसचिवहरू


काठमाडौं। सरकारले गरेको सहसचिवको सरूवामा केही सहसचिवहरू नराम्रोसँग पेलानमा परेका छन्। कोही सहसचिव प्रदेशबाट प्रदेशतिरै लखेटिएका छन् भने केही सहसचिवलाई उपसचिवलाई पनि काम नपुग्ने अड्डामा पेलिएको छ। केही सहसचिवले भने एउटा प्रदेशबाट त्योभन्दा सहज प्रदेश रोजेर गएका छन्।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव रितेशकुमार शाक्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स), वीर अस्पताल पुगेका छन्। उनलाई पेलेर बागमती प्रदेशबाट न्याम्स, वीर अस्पताल पठाइएको हो। उपसचिवलाई पनि काम नपुग्ने न्याम्सलाई सहसचिव शाक्यलाई आराम गर्नबाहेक खासै काम छैन। न्याम्समा प्रशासन समूहको सहसचिवको दरबन्दी पुनरावलोकन नगरे सहसचिव भन्क्याउने थलोको रूपमा रहने निश्चित छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरूण पोखरेललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरूवा गरिएको छ। सहसचिवको दरबन्दीको औचित्य पुष्टि हुन नसकेको पाँचथरका सिडिओ पोखरेललाई बेपत्ता आयोगतिर ‘बेपत्ता’ पारिएको हो। सहसचिव पोखरेल पनि पेलानमा परेका छन्।

सुदूरपश्चिम प्रदेशतिर रहेका विरेन्द्रकुमार मिश्र मधेश प्रदेशतिर झरेका छन्। उनी पनि प्रदेशबाट प्रदेशतिरै पेलिएका छन्। उनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन सचिवको भूमिकामा थिए।

खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश सरूवा भएका रामबाबु पुरी ल बागमती प्रदेशतिर सरूवा मिलाएका हुन्। भर्खरै लुम्बिनी गएका पुरी त्यहाँभन्दा बागमती सहज र पायक हुने देखेपछि रोजेरै नारायणी तरेका छन्।

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार सचिव उद्धवप्रसाद रिजाल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन्। उनी पनि प्रदेशबाट प्रदेशतिरै धपाइएका हुन्।

संघका मन्त्रालयमा ढलिमली गरिरहेका कोषहरि निरौला र देवराज जोशी पनि प्रदेशतिर लखेटिएका छन्।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ