स्वास्थ्य संस्था खुसी बनाउन १० अर्ब भुक्तानी आवश्यक
काठमाडौं । समयमै स्वास्थ्य बीमाको भुक्तानी गर्न नसकेपछि आलोचनामा परेको स्वास्थ्य मन्त्रालयले तत्काल १० अर्ब भुक्तानी गरेर सेवा प्रदायक संस्थाहरूको चित्त बुझाउने तयारी गरेको छ। हाल बीमा बोर्डको खातामा ३ अर्ब मात्र रकम बाँकी रहेकाले अर्थ मन्त्रालयबाट थप निकासाका लागि प्रक्रिया अघि बढाइएको छ।
सेवा प्रदायक संस्थाहरूको भुक्तानी रोकिएपछि व्यापारीहरूले बीमाअन्तर्गतका औषधिहरू अस्पतालमा रोक्न थालेका छन्। औषधि र उपकरण रोकिएपछि धेरै अस्पतालहरूले बीमाबाट दिँदै आएका सेवा पनि स्थगित गर्न बाध्य भएका छन्।
प्रत्येक मेडिकल कलेजलाई ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। त्यस्तै सरकारी र निजी अस्पतालहरूमा पनि प्रत्येकमा ५ करोड रुपैयाँभन्दा बढी बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।
यस्तो अवस्थामा थप रकम उपलब्ध नभए सेवामा अवरोध आउने चेतावनीका बीच स्वास्थ्य बीमा बोर्ड र मन्त्रालयको सहकार्यमा थप ७ अर्ब बजेट अर्थ मन्त्रालयसमक्ष माग गर्ने निर्णय गरिएको छ। अर्थ मन्त्रालयबाट निकासा भएलगत्तै १० अर्ब रुपैयाँ भुक्तानी गरिने मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस