नारायणीको मेसु साह प्रति अस्पतालका सिनियर चिकित्सक सहमत, बिचौलिया असहमत


काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सरुवा गरेका केही निर्देशकहरुसम्बन्धी निर्णयमा बिचौलियाहरूले असहमति जनाएका छन् । तीमध्ये एक निर्णय नारायणी उप–क्षेत्रीय अस्पतालको निर्देशक परिवर्तनसँग सम्बन्धित छ ।

तत्कालीन निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ । उनी मन्त्रालय सरुवा भएपछि त्यहाँ कार्यरत वरिष्ठ सर्जन डा. चितरञ्जन साहलाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को जिम्मेवारी दिइएको हो ।

डा. साह १०औं तहका न्युरो सर्जन हुन् । यसअघि पनि उनले पटक–पटक निर्देशकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । उनलाई पुनः निर्देशनको जिम्मेवारी दिइएको यो तेस्रो पटक हो । तर, केही व्यापारी र बिचौलियाहरू डा. चितरञ्जन साहको नियुक्ति बदर गर्न भन्दै स्वास्थ्य मन्त्रालय र शक्तिकेन्द्र धाइरहेको मन्त्रालय स्रोत बताउँछ ।

अस्पतालमा कार्यरत ११औं तहका चिकित्सक ४ जना छन् । तर, तीमध्ये कसैले पनि नेतृत्व लिन अस्वीकार गरेपछि मन्त्रालयले विगतको सफल अनुभवका आधारमा डा. चितरञ्जन साहलाई जिम्मेवारी दिएको हो ।

अस्पतालका ११औं तहका एक चिकित्सक डा. सुरेन्द्र चौधरीका अनुसार, “साह जुनियर भए पनि प्रशासनिक अनुभव भएका व्यक्ति हुन् । हामी ११औं तहका कसैको पनि निर्देशकमा इच्छा नभएकै कारण उनलाई दिइएको हो,” उनले भने । चौधरीका अनुसार मन्त्रालयले डा. चितरञ्जन साहलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ, जसमा अस्पतालका सबै सिनियर र जुनियर चिकित्सक सहमत छन् ।

हालै सरुवा भएर मन्त्रालय आएका डा. चुमनलाल दास पनि डा. चितरञ्जन साहलाई योग्य र सफल नेतृत्वदायी व्यक्तिका रूपमा चित्रण गर्छन् । दास भन्छन्, “उनी राम्रा चिकित्सक हुन्, उनीमा विगतमा निर्देशकका रूपमा काम गरेको अनुभवले संस्थालाई थप उचाइमा पुर्‍याउने क्षमता छ ।” तर, बिचौलियाहरू भने डा. एनामुल हकलाई अगाडि सार्दै आएका छन् । हक पनि १०औं तहकै चिकित्सक हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ