रूपन्देही छाडेका पाण्डे र पर्सा छाडेका सुवेदी अझै कार्यक्षेत्र पुगेनन्


काठमाडौं। गृह मन्त्रालयले गत कार्तिक ९ गते सरूवा गरेका केही सिडिओहरू अझै कार्यक्षेत्र नपुगेको पाइएको हो। आकर्षक जिल्ला रूपन्देही १ पर्सा छाड्नु परेका सिडिओहरू रहनाले अझै खटाएको जिल्लामा नपुगेको पाइएको छ।

रूपन्देहीबाट लम्जुङ सरूवा भएका टोकराज पाण्डे यतिका दिनसम्म पनि जिल्लाको कमाण्ड सम्हाल्न पुगेका छैनन्। पाण्डेले बल्लतल्ल रूपन्देही छाडेपनि लम्जुङमा नझुल्किएका हुन्। जिल्ला प्रशासन कार्यालय लम्जुङले वेबसाइटले अझै उनलाई सिडिओको रूपमा चिन्न सकेको छैन। लम्जुङका सिडिओ माधवप्रसाद पोखरेल रूपन्देहीमा हाजिर भइसकेपनि पाण्डे बाटोमै लापत्ता भएका हुन्।

त्यस्तै पर्साबाट अर्घाखाँचीको सिडिओमा सरूवा भएका तोयनारायण सुवेदी पनि अझै कमाण्ड सम्हाल्न पुगेका छैनन्। उनको पनि हालत पाण्डेको जस्तै देखिन्छ। गोपालप्रसाद अर्यालले अर्घाखाँची छाडेको लामो समय भइसक्दा पनि सुवेदी अझै कार्यक्षेत्र नपुगेका हुन्। पर्साको सिडिओमा भोला दाहाल हाजिर भएर कमाण्ड सम्हाल्न सुरू गर्दा पनि सुवेदी सुपा देउरालीतिरै हराएका छन्।

यता गुल्मीबाट अछाम सरूवा भएका सिडिओ विष्णुप्रसाद कोइराला र अछामबाट गुल्मीको सिडिओमा सरूवा भएका आनन्द सारूले अझै जिल्ला छाडेका छैनन्। उनीहरूले सल्लाहमै जिल्ला नछाडेको जस्तो देखिन्छ। जुम्लाका सिडिओ सरूवा भएका केदारनाथ शर्माले कार्यक्षेत्र नछाड्दा खिमबहादुर रायामाझी समेत हाजिर हुन पाएका छैनन्।

झापामा शिवराम गेलाल, मोरङका युवराज कट्टेल, सुनसरीमा बासुदेव घिमिरेले सिडिओको कमाण्ड सम्हालिसकेका छन्।

उदयपुरमा धर्मराज जोशी, धनकुटामा विनोदकुमार खड्का, सिराहामा सुरेन्द्र पौड्याल, धनुषामा प्रेमप्रसाद लुईंटेल, महोत्तरीमा इन्द्रदेव यादव, बारामा धर्मेन्द्रकुमार मिश्र, काभ्रेपलाञ्चोकमा गोपालकुमार अधिकारी सिडिओको कमाण्ड सम्हाल्न पुगिसकेका छन्।

ललितपुरमा प्रेमप्रसाद भट्टराई, मकवानपुरमा बसन्त अधिकारी, सिन्धुलीमा स्किम श्रेष्ठ, भक्तपुरमा उमेश ढकाल, दोलखामा नारायणप्रसाद रिसाल, सर्लाहीमा रामुराज कडरिया, बर्दियामा गोगन हमाल, कैलालीमा हिरालाल रेग्मी, नवलपरासी पश्चिममा कृष्णप्रसाद लम्साल सिडिओमा हाजिर भइसकेका छन्।

रौतहटमा दिनेशसागर भुसाल, बाँकेमा दिलकुमार तामाङ, कपिलवस्तुमा जनार्दन गौतम, गोरखामा तुलसीबहादुर श्रेष्ठ र जुम्लामा खिमबहादुर रायमाझी सिडिओमा हाजिर भइसक्दा पनि पाण्डे र सुवेदीको नामोनिसान देखिँदैन।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ