जयनारायण गृहको कार्यक्रममा अष्ट्रेलिया घुम्दा पर्यटन मन्त्रालय प्रवक्ताबिहीन
काठमाडौं। सहसचिव जयनारायण आचार्य गृहको कार्यक्रममा अष्ट्रेलिया घुम्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रवक्ताबिहीन भएको छ। पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछाने पर्यटन विभागको महानिर्देशक भएर गएदेखि मन्त्रालय प्रवक्ताबिहीन भएको हो। गृहबाट आएका सहसचिव आचार्यलाई लामिछानेको ठाउँमा प्रवक्ता तोक्ने तयारी उनले अष्ट्रेलियामा मस्ती मार्दा पर्यटन मन्त्रालय प्रवक्ताबिहीन अवस्थामा पुगेको हो।
पर्यटन मन्त्रालयमा प्रशासन तथा योजना महाशाखा प्रमुखलाई प्रवक्ता तोकिदै आएको छ। उक्त महाशाखा रिक्त रहेकाले आचार्यलाई तोक्ने तयारी थियो। तर, उनी अर्कै मन्त्रालयको कार्यक्रममा विदेश सयर गर्दा पर्यटन मन्त्रालयको आधिकारिक धारणा बुझ्न समस्या भएको हो।
आचार्य गएको कार्यक्रम गृह मन्त्रालयका लागि मात्र उपयोगी हुन्छ। उनी गृहबाट आउट भइसकेका छन्। गृहबाट आउट भइसकेका आचार्यले भत्ता र विदेश घुमाइको मज्जा लिन मरिहत्ते गर्दा गृह मन्त्रालय उनको सिकाइको लाभ लिनबाट बञ्चित भएको छ। उनले मन्त्रालय छाडेपछि गृह मन्त्रालयले सम्बन्धित कर्मचारीलाई मनोनयन गर्नुपर्थ्यो। आचार्यले पनि छाडिसकेको ठाउँमा आवश्यक पर्ने तालीम अनावश्यक रूपमा लिन जान्न भन्न सक्नुपर्थ्यो। तर, बिडम्बना नेपालको ‘ब्यूरोक्रेसी’ लोभी र स्वार्थी भएकाले आचार्य सरूवा भएको मन्त्रालयलाई समेत कामको बोझ बोकाएर अष्ट्रेलिया गएका छन्। उनी अष्ट्रेलियातिर बरालिएको पनि १५ दिन बढी भइसकेको छ।
आचार्यसँगै गृहबाट डाडाँ कटाउने तयारीमा रहेका गणेशदत्त भट्ट अष्ट्रेलिया घुमिरहेका छन्। जेन्जी आन्दोलनका क्रममा निजी गाडी जलेपछि बिरत्तिएका गणेश अहिले अष्ट्रेलियामा फ्रेस भइरहेका हुन्। अरूलाई भिजिट भिसामा विदेश पठाउन सहजिकरण गर्दै आएका उनी आफू भने सरकारी भिसामा अष्ट्रेलिया पुगेका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस