यती दरबारमार्ग जग्गा भाडा प्रकरण: तत्कालीन सहसचिव कार्की समातिए, सचिव कार्की समातिएलान्?


काठमाडौं। यति समूहलाई नेपाल ट्रष्ट को स्वामित्वमा रहेको दरबारमार्गको जग्गा कौडीको भाउमा भाडा लगाउने तत्कालीन सहसचिव लेखबहादुर कार्की सिआईबीको फन्दामा परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गर्न हिरासतमा लिएको हो। राजप्रसाद सेवाबाट आएका तत्कालीन सहसचिव (हाल अवकाशप्राप्त) कार्की सिआईबीको अनुसन्धान दायरामा आउनेबित्तिकै ‘लहरो तान्दा पहरो खस्ने’ सम्भावना बढेको छ।

लेखबहादुर कार्की

तत्कालीन सचिव अर्जुनकुमार कार्की र लेखबहादुरको मिलेमतोमा २०७४ साल जेठ १४ गते दरबारमार्गका रहेको नेपाल ट्रष्टको जग्गा यती समूहलाई सुम्पिने काम भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी आङछिरिङ शेर्पाको थामसेर्कु डेभलपर प्रालिलाई उक्त जग्गा कौडीको भाउमा ३० वर्षका लागि भाडामा दिइएको हो।

ट्रष्टका तत्कालीन कार्यकारी सचिव अर्जुनले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थबमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकारी प्रयोग गरी तत्कालीन सहसचिव लेखबहादुरले सम्झौता गरेका थिए। दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गमा रहेको जग्गा भाडामा लगाउने प्रकरणमा थामसेर्कुले सुरूमा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो। नेपाल ट्रष्टका पदाधिकारी र यती थामसेर्कुका माफियाहरूको मिलेमतोमा एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँमा ३० वर्षका लागि उक्त जग्गा भाडामा लगाउने सम्झौता भएको देखिन्छ। उक्त विषयमा महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता औल्याईसकेको छ।

दरबारमार्गजस्तो महत्वपूर्ण ठाउँमा रहेको एक रोपनी १४ आना जग्गा स्वर्गीय आङछिरिङको स्वामित्वमा रहेको यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर प्रालिले ३० वर्षको लागि अवैध ढंगले लिजमा हत्याएको विषयमा लेखबहादुर सिआईबीको फन्दामा परेपछि तरंग उत्पन्न भएको हो।

त्यसो त नेपाल ट्रष्टको तत्कालीन ऐन अनुसार उक्त जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन पाइँदैन थियो। नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुनेगरी शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रयोग गर्न सक्ने प्रावधान रहेको थियो। तर, केपी शर्मा ओली प्रधानमन्त्री र शक्तिबहादुर बस्नेत गृहमन्त्री भएका बेला २०७३ असार १४ गते प्रस्ताव माग गर्दा व्यापारिक प्रयोजनका लागि उक्त जग्गा भाडामा लगाउने बाटो खोलियो। त्यो बेला कानुनविपरीत शिक्षा र स्वास्थ्यबाहेकका क्षेत्रमा त्यो पनि ओली निकट व्यवसायिकलाई व्यापार, व्यवसाय गर्न उक्त जग्गा भाडामा लगाउने प्रक्रिया अघि बढेको हो। उक्त विषयमा समेत सिआईबीले अनुसन्धान गरे ठूलै हलचल आउने देखिन्छ।

आङछिरिङले तत्कालीन सचिव अर्जुनलाई त्यसबापत भौतिक सचिव समेत बनाइदिएका थिए। आङछिरिङ जीवित रहेको भए उनको मुख्यसचिव र अख्तियार आयुक्तको यात्रा कसैले रोक्न सक्ने भिएनन्। तर, आङछिरिङ हेलिकप्टर दुर्घटनामा पर्दा अर्जुनको निशाना चुक्यो। सहरी विकास मन्त्रालयको सचिव हुँदा त्रिपाल घोटाला काण्डमा मुछिएका अर्जुनले ट्रष्टको दरबारमार्ग र ताहचलको जग्गा भाडामा लगाउने प्रक्रिया अघि बढाएका थिए।

दरबारमार्गको जग्गा यति समूहलाई दिनेगरी सम्झौता गर्दा प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री विमलेन्द्र निधी रहेका थिए। दरबारमार्गको जग्गा यती समूहलाई सम्पिदा ठूलो घोटाला भएकाले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने ठूला माछा समेत तानिने जोखिम बढेको छ। जेन-जी सरकारको सुशासनको यात्रामा बल पुग्नेगरी सिआईबीले नेपाल ट्रष्ट को स्वामित्वमा रहेको दरबारमार्ग जग्गा भाडा (लिज) प्रकरणमा अनुसन्धान सुरू गरेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनकुमार कार्की, #लेखबहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ