फ्रान्सको पेरिसतिर देखा परेको सहसचिवको ‘बथान’


काठमाडौं। फ्रान्सतिर नेपाल सरकारका सहसचिवको ‘बथान’ देखा परेको छ। भारतसँग सिमाना जोडिएको मोरङको रङ्गेली दुर्लभ जनावर हाइनाको बथान देखिए कै दिन फ्रान्सको पेरिसतिर सहसचिवको बथान देखा परेको हो।

सहरी केबलकार अध्ययन गर्न एडिबीको फेरे समातेर नेपाल सरकारका एक हुल सहसचिवहरू फ्रान्सतिर झुल्किएका हुन्। उक्त हुलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देखा नपरे पनि ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ ‘फ्रन्ट’मा देखा परेकी छिन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख सहसचिव प्रकाश दाहाल पनि उक्त हुलमा मिसिएका छन्। उनी फ्रान्सतिर लाग्दा लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटलाई ‘घाटा’ लागेको छ। सहरी विकास मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनाली समेत मुसुक्क हाँसेर दाहालको छेउमा उभिरहेको तस्बिरमा देखिन्छ।

हुलाकी सडक एवं संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सहसचिव) कुवेर नेपाली पनि सहसचिवको बथानमा रहेका छन्। रेखा र कुवेरको बीचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख सहसचिव कृष्णराज पन्थ देखिन्छन्। ढाका टोपी लगाएर फ्रान्समा पनि नेपालीपन देखाउने सहरी विकास मन्त्रालयको अन्तर्गको डोलीका डिजी महेशचन्द्र न्यौपाने हुन्।

सहसचिवको बथानमा अर्थ मन्त्रालयका उपसचिव देवानन्द काफ्लेलगायत पनि देखिन्छन्। जेन-जी युगमा पनि निजी क्षेत्रले केबलकारमा धमाका मच्चाइसक्दा सहसचिवको बथान हाइना स्टाइलमा पेरिसमा पुगेको हो। यसमा जेन-जीहरूले समेत मूल्याङ्कन गर्ने समय आइसकेको छ। हेर्दै जाऊ सहसचिवको बथान फ्रान्सबाट नेपाल फर्किएपछि काठमाडौं उपत्यकामा केबल कार चढ्न पाइन्छ। ललितपुर महानगरपालिकाबाट भएपनि सहरी केबल कारको सुरूवात हुन्छ। नत्र त फ्रान्सतिर देखा परेको सहसचिवको बथान इफेल टावरको उचाईंको अनुभूति गर्नमै सीमित हुने देखिन्छ। यस्ता भ्रमणको औचित्य पुष्टि गर्न सहसचिवको बथान कतिको सफल हुन्छ हेर्न बाँकी छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ