स्वास्थ्यमा अतिरिक्त सचिव र विभागको उपमहानिर्देशकको दरबन्दी कटौती गर्ने सुनौलो अवसर
काठमाडौं। स्वास्थ्यमा अनावश्यक रहेका अतिरिक्त सचिवको दरबन्दी कटौती गर्ने सुनौलो अवसर जुरेको छ। अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दा दायर भइसकेको र अर्का अतिरिक्त स्वास्थ्य सचिव (स्वास्थ्य सेवा विभागका महानिर्देशक) डा. टंकप्रसाद बराकोटीले राजीनामा दिएपछि अतिरिक्त दुई अतिरिक्त सचिव रिक्त भएको छ।
स्वास्थ्यमा अहिले डा. केशरबहादुर ढकाल र श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिव रहेका छन्। डा. ढकाल चालू आर्थिक वर्षमै ६० वर्ष लागेर घर जाँदैछन्।
सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न अनावश्यक संरचना हटाउने र दरबन्दी घटाउने निर्णय गरेको छ। जेन-जी आन्दोलनको आडमा बनेको सरकारले सुरूवाती चरणमै आम नागरिकलाई परिवर्तन र सार्वजनिक प्रशासन सुधारको आभाष दिनका लागि उक्त निर्णय गरेको हो। उक्त निर्णय बमोजिम अर्थ मन्त्रालयले ओएन्डएम गरेर मध्यमस्तरीय करदाता कार्यालय खारेज गरेको छ। अर्थ मन्त्रालयको उक्त ओएन्डएमलाई मन्त्रिपरिषद्को बैठकले समेत स्वीकृत गरिसकेको छ।
अब अनावश्यक दरबन्दी कटौती गरेर जेन-जी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्न स्वास्थ्य मन्त्रालयले कदम चाल्नु पर्ने समय आइसकेको छ। स्वास्थ्यमा वीर अस्पतालको दरबन्दी देखाएर अतिरिक्त स्वास्थ्य सचिवको बढुवा हुँदै आएको छ। वीरमा कहिल्यै नजाने र बढुवा मात्र खाने यस्तो अनावश्यक दरबन्दी तत्काल कटौती गरेर सरकारको खर्च कटौती र मितव्ययिता कायम नीतिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पालना गर्न जरूरी छ।
स्वास्थ्यमा दुई वटा अतिरिक्त सचिवको दरबन्दी हुँदाखेरी नै शक्ति संघर्ष चल्दै आएको थियो। अहिले त वीर अस्पतालको दरबन्दी समेत मन्त्रालयमै व्यवस्थापन गर्नुपर्दा प्रशासनिक बेथिति र स्रोत साधन व्यवस्थापनमा समस्या पर्दै आएको छ। तत्कालका लागि वीर अस्पताल कै दरबन्दी कटौती गरेर स्वास्थ्य मन्त्रालयले सुधारको सन्देश दिन सक्नुपर्छ।
स्वास्थ्य सेवा विभागमा समेत उपमहानिर्देशक पदको दरबन्दी रहेको छ। उक्त दरबन्दीमा बढुवा खाने र नजाने विकृत अभ्यास भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्काली उपमहानिर्देशक डा. रमेशविक्रम सिंहलाई १० हजार घुस लिएको अभियोगमा रंगेहात पक्राउ गरेपछि उक्त पद निकै विवादित बन्यो। पछिल्लो समय विभागमा उपमहानिर्देशक नजाने र संरचना पनि संघीय प्रणालीमा गइसकेकाले उक्त पदको आवश्यकताको र औचित्य देखिँदैन।
अर्कातिर स्वास्थ्यमा दरबन्दी बिनै प्रशासनका सचिव समेत राखिएको छ। स्वास्थ्य सेवाका डा. विकास देवकोटा र डिल्लीराम शर्मा सचिव रहेका छन्। जुन सेवाको सचिव राखे पनि स्वास्थ्यमा एउटा सचिव भए प्रयाप्त हुन्छ। स्वास्थ्यमा एउटै सचिवले काम चलिरहेकै अवस्थामा दुई जना राखेर राज्यलाई अनावश्यक व्यभार थप्ने काम भइरहेको छ।
दुईजना सचिव हुँदाको ‘लुकामारी’ खेल्नुपर्ने भुक्तभोगी डा. सुधा शर्मा अहिले स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छिन्। उनले सुधारका लागि पनि स्वास्थ्यमा प्रशासनिक बेथितिको अन्त्य गर्न कदम चाल्न सक्छिन् कि सक्दिनन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस