डा. शैल रूपाखेतीले नैतिकता बन्धकी राखेको टिप्पणी


काठमाडौं। जर्मनीबाट फिर्ता बोलाइएका राजदूत अहिले परराष्ट्र मन्त्रालयको ‘एम्बेस्डर रूम’मा हाजिर गरेर सरकारी कालो चिया खाइरहेका छन्। उनी जस्तै १० जना परराष्ट्र मन्त्रालयमा हाजिर गरेर टाप ठोक्दै (हाटा) गर्दै आएका छन्।

परराष्ट्रको ‘माछाबजार’मा डा. रूपाखेती जस्ता ठूला माछा थपिएको चर्चा छ। डा. रूपाखेती तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी चिकित्सक रहिसकेका व्यक्ति हुन्। उनी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको जोडबलमा जर्मनीको राजदूत बनेका थिए। जेन-जी आन्दोलनपछि सुशिला कार्की नेतृत्वको सरकारले उनीसहितका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले ति राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्नू भनेर अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गरेर कालो चिया खाने व्यवस्था मिलाएको हो।

बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्रकुमार घिमिरेले परराष्ट्रको कालो चिया नै नचाखी राजीनामा दिए। केही दिन परराष्ट्रको कालो चिया पिएका अमेरिकाको राजदूतबाट फिर्ता बोलाइएका लोकदर्शन रेग्मीले टेस नपरेपछि राजीनामा दिएर हिँडेका छन्। लामो समय परराष्ट्रको ‘माछाबजार’मा बसिरहे दुर्गन्धित हुने अवस्था देखेपछि बाहिरिएका हुन्। तर, प्रतिष्ठित चिकित्सक डा. शैल रूपाखेती भने परराष्ट्र कै ‘माछाबजार’मा सड्ने खतरा बढेको छ।

डा. रूपाखेती प्रतिष्ठित चिकित्सक हुन्। उनी अरू जस्तै कालो चिया खाएर परराष्ट्र मन्त्रालयमा रूमलिएर बस्नु पर्ने अवस्था छैन। कोरोनाकालमा डा. रूपाखेतीले स्टार अस्पताललाई निकै चम्काएका थिए। उनी कुशल व्यवस्थापक समेत हुन्। डा. रूपाखेतीले फिर्ता बोलाउने निर्णय गरेपछि राजीनामा दिएर घिमिरे र रेग्मीलगायतलाई नैतिकताको पाठ सिकाउनु पर्ने थियो। तर, उनी अझै पनि ‘माछाबजार’मा लेपास्सिएर बसेका छन्। चिकित्सक रूपाखेतीले नैतिकता बन्धकी राखेर बसेको टिप्पणी हुन थालेको छ।

अझै पनि परराष्ट्रको ‘माछाबजार’बाट बाहिरिएर सड्नबाट बच्न डा. रूपाखेतीसँग समय छ। जेन-जी आन्दोलनले बढारिएका पुराना दल सत्तामा आए भने उनी फेरि राम्रै देशको राजदूत बन्ने सम्भावना जीवित छ। तर, डा. रूपाखेतीले हुलभन्दा आफूलाई अलग देखाउन चाहेनन्। डा. रूपाखेती परराष्ट्रको ‘माछाबजार’बाट जति चाँडो बाहिर निस्कन्छन् उनका लागि त्यति नै हितकर हुन्छ। ‘माछाबजार’मा बिक्री नभएका अक्सर माछाहरू कुहिने नै हो भन्ने कुरा डा. रूपाखेतीले बुझ्न जरूरी छ। चिकित्सा क्षेत्रका लागि पनि उनी बाहिरिँदा उत्तम हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. शैल रूपाखेती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ