प्रवासी चिकित्सकले स्वास्थ्य मन्त्री शर्मालाई बुझाए २१ बुँदे स्वास्थ्य सुधार सहितको सुझाव प्रतिवेदन


काठमाडौं । प्रवासी चिकित्सकहरूले “नेपालको स्वास्थ्य प्रणाली रूपान्तरणको खाका” शीर्षकमा २१ बुँदे प्रतिवेदन स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई हस्तान्तरण गरेका छन् । उक्त प्रतिवेदनमा स्वास्थ्य प्रणालीमा सुधारका लागि तत्काल र दीर्घकालीन कार्यनीतिहरू समेटिएका छन् ।

सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त प्रशासन, मानसिक स्वास्थ्यको एकीकरण, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, महिला र युवाको सशक्तिकरण, जेष्ठ नागरिकको हेरचाह, प्रवासी नेपाली श्रमिकको स्वास्थ्य अधिकार र औद्योगिक आत्मनिर्भरता जस्ता महत्त्वपूर्ण विषयहरू समावेश गरिएको सुझाव सङ्कलन तथा संयोजन गरेका प्रवासी चिकित्सक डा. सञ्जीव सापकोटाले बताए ।

उनका अनुसार नेपालको संविधानले स्वास्थ्यलाई मानव अधिकारका रूपमा सुनिश्चित गरेको हुँदा विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा अघि सारिएको युनिभर्सल हेल्थ कभरेज (Universal Health Coverage) को अवधारणालाई नेपालले पूर्ण रूपमा अंगाल्नुपर्ने विषय सुझावमा राखिएको छ ।

डा. सापकोटाका अनुसार यो सुझावलाई रूपान्तरणका रूपमा तयार पारिएको प्रतिवेदन प्रवासी तथा नेपालमा रहेका स्वास्थ्य क्षेत्रका तीन दर्जनभन्दा बढी संस्था र संगठनहरूले अनुमोदन गरेका छन् । विशेषगरी नेपालमा चिकित्सकमाथि हुने कुटपिट र हिंसात्मक घटनालाई प्राथमिकतामा राखिएको छ । यो विषय नेपाल चिकित्सक संघले पनि बेलाबेलामा उठाउँदै आएको हो ।

डा. सापकोटाले भने, “हामीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने हिंसाको प्रतिरोध र शून्य सहनशीलतामा जोड दिन मन्त्रीलाई आग्रह गरेका छौं।”

त्यस्तै, प्रवासी नेपाली स्वास्थ्य व्यवसायीहरूको सीप र दक्षतालाई बिना हिचकिचाहट देशमा उपयोग गर्न सक्ने प्रणालीको विकास गर्न पनि सुझाव दिइएको उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाको सशक्तिकरण, रोग उपचार केन्द्रित नभई स्वास्थ्य प्रवर्द्धनमुखी प्रणाली निर्माण गर्नु पर्ने सुझाव पनि प्रवासी चिकित्सकहरूले दिएका छन् ।

रोगको रोकथाम, प्रवर्द्धन, उपचार, पुनर्स्थापना र उपशामक सेवाको एकीकृत कार्यान्वयन, मानसिक स्वास्थ्यलाई सबै तहमा (वडा, गाउँ, नगरपालिका, जिल्ला, प्रदेश र संघीय) स्वास्थ्य प्रणालीको अविभाज्य अङ्ग बनाउने विषयमा सोच्न पनि आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्री डा. सुधा शर्माको पनि मानसिक रोगका क्षेत्रमा चासो र चिन्ता बढेको छ । मन्त्री भएपछि उनले यसलाई प्राथमिकतामा राखेकी छन् । बढ्दै गएको आत्महत्याको रोकथाममा कठोर कदम चाल्ने र विष सूचना केन्द्र स्थापना गर्न प्रवासी चिकित्सकहरूले सुझाव दिएका छन् ।

त्यसैगरी, प्राथमिक स्वास्थ्य सेवा र आकस्मिक उपचार प्रणालीलाई मजबुत बनाउने, आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गर्ने, प्रवासी श्रमिकहरूको आधारभूत स्वास्थ्य सुनिश्चित गर्न श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय सम्झौता गर्न समेत सुझाव दिइएको डा. सापकोटाले बताए ।

उनका अनुसार, चिकित्सकहरूले गत २३ गतेको जेन्जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको दूरदर्शी सोच र नयाँ नेपालको आकांक्षासँग एकजुट हुँदै देशको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औंल्याएका छन् ।

प्रवासी चिकित्सकहरूको सुझावपत्र बुझ्दै स्वास्थ्य मन्त्री डा. सुधा शर्माले प्रवासी चिकित्सकले दिएको सुझावमा समावेश धेरै बुँदाहरू कार्यान्वयनको क्रममा रहेको बताइन् । उनले विशेष दक्षता भएका प्रवासी चिकित्सक र विशेषज्ञहरूको नामावली पठाउन आग्रह समेत गरिन् ।

मन्त्री शर्माले प्रवासी विज्ञहरूसँग सहकार्य गरी नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न सकिने स्पष्ट पारिन् ।

प्रवासी चिकित्सक डा. सञ्जीव सापकोटाले भने, “स्वास्थ्य क्षेत्र सुधारको सुझावपत्र हस्तान्तरण गर्नु पहिलो कदम हो, त्यसैमा मात्रै सीमित भएर बस्नु हुँदैन। हामीले परिवर्तनका प्रभावहरू सबै नेपालीको स्वास्थ्य सुधारमा प्रत्यक्ष रूपमा देखिने तहसम्म पुग्नुपर्नेछ।” प्रतिवेदन बुझाउन, डा प्रभात अधिकारी, डाक्टर प्रकाश कँडेल र डा उमेश बोगटी सहभागी थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ