दरबन्दी सहसचिव भएका जिल्लामा उपसचिव सिडिओ


काठमाडौं। गृह मन्त्रालयले डोटीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा कल्पना घिमिरे नेपाललाई पठाएको छ। कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत उपसचिव कल्पना हालै डोटीको सिडिओ भएर गएकी हुन्।

डोटीका सिडिओ मोहनराज जोशी मकवानपुरको सहायक सिडिओ भएर गएका छन्। उनी एक वर्षभन्दा बढी डोटीको सिडिओ चलाएर मकवानपुरको सहायक सिडिओ भएर गएका हुन्। दरबन्दीका हिसाबले मकवानपुर र डोटी दुबै जिल्लामा सहसचिव सिडिओ हुन्छन्। तर, डोटीको सिडिओ मकवानपुरमा सहायक सिडिओ भएर आएका छन्। कुनै बेला सुदूरपश्चिम प्रदेशको क्षेत्रीय सदरमुकाम रहेको दिपायल पनि डोटी जिल्लामै पर्छ। उक्त जिल्लामा अहिले सहसचिव सिडिओ जान नमानेपछि उपसचिवलाई सिडिओ पठाइएको छ।

सहसचिवको दरबन्दी रहेको जाजरकोटमा पनि अहिले उपसचिव सिडिओ रहेका छन्। जाजरकोटको सिडिओ उपसचिव राजुप्रसाद पौडेल हुन्। जाजरकोटमा पनि सहसचिव सडिओ जान मान्दैनन्। गएका पनि टिक्दैनन्। त्यसैले पौडेलले चान्स पाएका हुन्।

डडेल्धुरा जिल्लामा पनि सिडिओ भएर जाने सहसचिव भेटिएको छैन। डडेल्धुराका सिडिओ जनार्दन गौतम कपिलवस्तुको सिडिओ भएर गएपछि डडेल्धुराको कमाण्ड सहायक सिडिओ सावित्रा पुनले सम्हालिरहेकी छिन्। उनीसहसचिवको दरबन्दी रहेको सल्यानको सिडिओबाट डडेल्धुरा पुगेकी हुन्। गृह मन्त्रालयले डडेल्धुरा सावित्राबाटै चलाउने रणनीति लिएको देखिन्छ।

गृह मन्त्रालयले दुईबाट १ निर्वाचन क्षेत्र रहेका र जनसंख्या घट्दो अवस्थामा रहेका जाजरकाेट, डडेल्धुरा जस्ता जिल्लामा सहसचिवको दरबन्दी राखेको छ। दुईवटा निर्वाचन क्षेत्र हुँदा उपसचिवले राम्रैसँग चलाएका जिल्लामा सहसचिव सिडिओ राखेर गृहले राज्यलाई अनावश्यक आर्थिक व्यभार थप्ने काम गरेको पाइन्छ। सहसचिवलाई सिडिओमा पठाउन पनि नसक्ने दरबन्दी पनि कायम राख्ने गृहको रणनीतिले सुशासनमाथि धावा बोलेको छ। यो विषयमा गम्भीर समीक्षा हुन जरूरी छ। केही पहुँचवाला कर्मचारीलाई बढुवा गर्न राज्यलाई ठूलो व्यभार थप्ने काम भएको हो।

इलाका प्रशासन कार्यालय समेत रहेका एक निर्वाचन क्षेत्र भएका जिल्लामा त झनै सहसचिवको दरबन्दी राख्नुको कुनै आवश्यकता र औचित्य देखिँदैन। यसमा जेन-जी सरकारले पुनरावलोकन गर्न कदम चाल्नुपर्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कल्पना घिमिरे नेपाल, #मोहनराज जोशी, #राजुप्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ