प्रशासनिक बेथितिमा रमाउँदै मुख्यसचिव अर्याल: सञ्चार मन्त्रालयमा दरबन्दीभन्दा बढी पठाए सहसचिव
काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल एकपछि अर्को प्रशासनिक बेथितिमा रमाउन थालेका छन्। जेन-जी आन्दोलनको बलमा बनेको सरकारलाई बदनाम गराउन उनी सक्रिय रहेको पाइन्छ। मुख्यसचिव अर्यालले सचिव र सहसचिव सरूवामा प्रशासनिक बेथिति निम्त्याएका हुन्।
मुख्यसचिव अर्यालले दरबन्दीबिनै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर प्रशासनिक बेथितिलाई बढावा दिने काम गरेका थिए। त्यति मात्र होइन कुनै सचिवलाई निलम्बन वा मुद्दा नपरी बैकुण्ठप्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको कायममुकायम(कामु) प्रमुख सचिव मुकरर गरेर पठाएका छन्। उनले छाडेपछि रिक्त हुने पदमा अहिले नै कामु तोकेर मुख्यसचिव अर्यालले प्रशासनिक बेथितिलाई प्रश्रय दिएका हुन्।
मुख्यसचिव अर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दरबन्दीभन्दा बढी सचिव पठाएर रमिता देखाएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालमा अहिले प्रशासन सेवाका सहसचिवको ५ वटा दरबन्दी रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रशासन तथा योजना र सञ्चार गरी दुईवटा महाशाखामा प्रशासन सेवाका सहसचिवको दरबन्दी छ। मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग र हुलाक सेवा विभागमा १/१ जना सहसचिवको दरबन्दी छ। मन्त्रालय र विभागमा गरी ५ वटा दरबन्दी रहेकोमा मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव रविलाल शर्मालाई पठाएर ६ सहसचिव बनाइदिएका छन्। यसले सञ्चार मन्त्रालय लाई सहसचिव व्यवस्थापन गर्न सकस परेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुख कोषहरि निरौलाको कोशी प्रदेशतिर सरूवा भएपछि उक्त मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयबाट आएका सुभाषचन्द्र शिवाकोटीले कमाण्ड सम्हालेका छन्।
सञ्चार महाशाखामा सूचना तथा प्रसारण विभागको महानिर्देशकबाट उदयबहादुर राना मगर बसेका छन्। सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारी छविन्द्र पराजुलीले सम्हालिसकेका छन्। हुलाक सेवा विभागको महानिर्देशक मनमाया भट्टराई पंगेनी छिन्। त्यस्तै मुद्रण विभागको महानिर्देशक गोपाल कोइराला हुन्।

सञ्चार मन्त्रालय र अन्तर्गतका विभाग भरिभराउ भइसकेको अवस्थामा प्रशासनिक बेथितिका नायक मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रविलाल शर्मालाई सञ्चारतिरै ठेलिदिएका छन्। मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला मंसिर १९ गते घर जाँदैछन्। त्यसको महिना दिन अघि नै मुख्यसचिव अर्यालले सहसचिव शर्मालाई सञ्चारतिर पठाएका हुन्। मुख्यसचिव अर्यालको मनपरीतन्त्र जल्दा सञ्चार मन्त्रालयमा दरबन्दीभन्दा बढी सहसचिव पठाइएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस