मुख्यसचिव अर्यालले सचिव बैठक राखेर राजीनामा दिने सम्भावना, सुमनलाई मुख्यसचिव बनाउने तयारी


काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालमाथि पदबाट राजीनामा दिन चर्को दबाब परेको छ। जेन-जी अभियान्ताहरूले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने प्रधानमन्त्री सुशिला कार्कीसमक्ष प्रस्ताव गरेका छन्। मुख्यसचिव एकनारायण अर्यालले मंसिर १ गतेदेखि राजीनामा दिने वा बिदामा बस्ने आश्वासन दिएपछि ‘जेन-जी’ अभियान्ताहरू १ गतेको पर्खाइमा छन्।

मुख्यसचिव अर्यालले मंसिर १ गते राजीनामा दिने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोतले बतायो। मुख्यसचिव अर्यालले सोमबार सचिव बैठक राखेकाले त्यहिँबाट राजीनामा घोषणा गर्न सक्ने अवस्था रहेको स्रोतको दाबी छ। उक्त सचिव बैठक नियमित नभएकाले अर्थपूर्ण रूपमा हेरिएको छ। उनले सोमबार राजीनामा दिनेमा जेन-जी अभियान्ताहरू पनि विश्वस्त देखिन्छ। मंसिर ९ गते बेलुकाबाट घर जान लागेका मुख्यसचिव अर्यालले राजीनामा दिएर सम्मानजनक बहिर्गमनको बाटो रोज्न लागेको बताइन्छ।

पछिल्लो समय एकपछि अर्को निर्णयमा प्रशासनिक बेथिति निम्त्याएका मुख्यसचिव अर्यालले सरकारको प्रशासनिक सल्लाहकार मागेको पनि चर्चा छन्। उनलाई प्रशासनिक सल्लाहकार बनाएर जेन-जी आन्दोलनमाथि कुठाराघात नगर्न जेन-जी अभियान्ताहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन्। मुख्यसचिव अर्यालले राजीनामा नदिए अर्को मुभ गर्ने ‘जेन-जी’ अभियान्ताहरूको तयारी बुझिन्छ।

एकनारायणले मुख्यसचिव छाडेपछि रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने तयारी रहेको पाइन्छ।सचिवको एक नम्बर बरियतामा रहेका गोकर्णमणि दुवाडी ‘जेन-जी’ आन्दोलन दमन र भिजिट भिसामा ‘उड्न’ लागेपछि रक्षा सचिव सुमनको भाग्य चम्किन लागेको हो। गोकर्णलाई भिजिट भिसा र जेन-जी जाँचबुझ आयोगले बयान लिन लागेकाले उनको मुख्यसचिव बन्ने सम्भावना लगभग टरेको छ।

कुलिङ पिरियड लबिइङमा पनि नलागेका र गोकर्णपछि सिनियर सचिव भएकाले सुमनलाई मुख्यसचिव बनाउन जेन-जीहरू पनि सकारात्मक नै रहेको बुझिन्छ। सुमनलाई नबनाउँदा कुलिङ पिरियड चलखेलमा नलागेका सचिवलाई मुख्यसचिव बनाउन ‘जेन-जी’ अभियान्ताहरूको प्रस्ताव छ

२०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन मुख्यसचिव भए भने २०८३ असार २५ गतेसम्म (करिब ८ महिना) पदमा रहनेछन्। सुमन २०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका हुन्।

तथ्याङ्कतिरबाट आएका सुमन कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव, राष्ट्रिय योजना आयोगको सचिव र रक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका छन्। उनी तथ्याङ्कभन्दा बाहिर गएर काम गरेको भने सचिव भएपछि मात्र हो। परराष्ट्रका शंकरदास बैरागी मुख्यसचिव बन्दा तथ्याङ्कका सुमन नहुने भन्ने कुरै हुँदैन। तर, उनको कमाण्ड निकै कमजोर छ। विषयवस्तु बुझ्ने कुरा र निर्णय गर्नमा भने उनी सहज रहेका छन्।

मुख्यसचिवको प्रतिस्पर्धामा प्रमिला बज्राचार्य शाक्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्णलगायतका सचिव रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ