मुख्यसचिवको प्रतिस्पर्धामा रहेका कुन सचिव कस्ता?
समाचार टिप्पणी
काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालको अवकाशको दिन नजकिएसँगै मुख्यसचिव बन्नका लागि सचिवहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। मुख्यसचिव बन्नका लागि केही सचिव मिडियाबाजीमा समेत लागेका छन्। प्रशासनिक नेतृत्वको सर्वोच्च पद मुख्यसचिव बन्न सचिव भइसकेकाले इच्छा राख्नु स्वभाविक पनि हो। सचिव भइसकेका निजामती सेवाका र न्याय सेवा कानुन समूहको जोसुकै मुख्यसचिवका लागि योग्य पात्र हुन्।
अहिले मुख्यसचिवको प्रतिस्पर्धामा चालू आर्थिक वर्षमा अवकाशमा जान लागेका पाँच सचिवबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। नेपाल सरकारका सचिवहरू सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण र रामप्रसाद घिमिरेबीच मुख्यसचिवका लागि प्रतिस्पर्धा रहेको पाइन्छ।
मंसिर ९ गते रातिबाट ५८ वर्ष लागेर अवकाश जान लागेका मुख्यसचिव एकनारायण अर्यालको विषयमा सोमबारको सचिव बैठकपछि एउटा निचोड निक्लिने सम्भावना छ। एकनारायणसँगै राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी पनि घर जाँदैछन्। जेन-जी आन्दोलन दमन र भिजिट भिसा प्रकरणमा बयानमा धाउनु पर्ने भएपछि मुख्यसचिवमा दुवाडीको ‘च्याप्टर क्लोज’ भइसकेको छ। दुवाडीपछि मुख्यसचिवको लाइनमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएर हिँडेकाले सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, रामप्रसाद घिमिरेहरू मुख्यसचिवको प्रतिस्पर्धामा मैदानमा उत्रिएका हुन्।
मुख्यसचिवका प्रमुख दाबेदार सुमनराज अर्याल रक्षा मन्त्रालयमा कार्यरत छन्। प्रशासन सेवाको आर्थिक योजना तथा तथ्याङ्क समूहको खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदै सचिव बनेका सुमनराज अर्याल आर्थिक विवादमा नआएका र चाकडी गर्न नजान्ने सचिवमा पर्छन्।
२०७७ माघ १९ गते नेपाल प्रशासन सेवाको सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आएका थिए। दबाब थेग्न नसक्ने भनेर परिचित अर्यालले दबाबका बाबजुद पनि लेखा उपसचिव भेषप्रसाद भुर्तेललाई परराष्ट्र मन्त्रालय पठाएर उपलब्धिमा नाम लेखाएको बेला-बेला चर्चा हुने गरेको छ। अर्याल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन्। अर्यालले जिम्मेवारी पाएको मन्त्रालयबाटै उनी चाकडी गर्न नजान्ने सचिव हुन भन्ने कुरा प्रस्ट हुन्छ।
दुवाडी विवादमा परेपछि र सुवेदीले मैदान छाडेपछि रक्षा सचिव अर्याल मुख्यसचिवको प्रतिस्पर्धामा अगाडि आएका हुन्। अर्यालले निकट भएर काम गर्नेहरू उनले बनाउन नसकेपनि नबिगार्ने दाबी गर्छन्। अर्याल मुख्यसचिव नबने आगामी माघ १८ गते ५ वर्षे कार्यकाल चलाएर घर जानेछन्।
अर्यालपछि खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मुख्यसचिवको प्रतिस्पर्धामा छिन्। महिला, आदिवासी/जनजाति हरेक हिसाबले उनी मुख्यसचिवको प्रतिस्पर्धामा उनी उत्रिएकी हुन्। विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समय बसेकी बज्राचार्यलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ‘फेभर’ गरेका थिए। तत्कालीन खानेपानी मन्त्री प्रदिप यादवलाई भन्दा सचिव बज्राचार्यलाई ओलीले विश्वास गर्ने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। बज्राचार्यले नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र जस्ता निकायको सचिव भएर पनि काम गरिन्। २०७८ असार १७ गते सचिवमा बढुवा भएकी बज्राचार्य मुख्यसचिव बनिनन् भने ५ वर्ष सचिव चलाएर २०८३ असार १६ गते घर जानेछिन्।
२०७८ असार २१ गते सचिवमा बढुवा भएका मधुसूदन बुर्लाकोटी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहेका छन्। सचिवमा बढुवा भएपछि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएर गएका बुर्लाकोटी ६ महिना त्यहाँ टिकेका थिए। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए। सार्वजनिक खरिद अनुगमन कार्यालय भने सचिव बुर्लाकोटी डेढ वर्ष बसे। त्यसपछि उपराष्ट्रपतिको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा हुँदै छोटो समयमै वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएर गए। त्यहाँबाट डेढ महिनामै राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका बुर्लाकोटी ‘भकुण्डो’ सचिवले परिचित छन्। कडा स्वभावका कारण बुर्लाकोटीलाई एउटै कार्यालयमा लामो समय टिक्न मुस्किल पर्छ। उनी अर्याल जस्तै चाकडी गर्न नजान्ने सचिवमा पर्छन्। बुर्लाकोटी मुख्यसचिव भएनन् भने २०८३ असार २० गते ५ वर्ष पुगेर अनिवार्य अवकाशमा जानेछन्। खरो स्वभावका कारण उनी धेरै सरूवामा परेका हुन्।
मुख्यसचिव बन्न सबै अस्त्र प्रयोग गरेर मैदानमा उत्रिएका अर्का पात्र हुन् कृष्णहरि पुष्कर कर्ण। सचिव भएपछि सीधै राजस्व सचिवमा पदस्थापन भएका कर्ण दुईपटक अर्थ सचिव बन्न सफल भएका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै कर्ण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव बन्न पुगेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा कर्णले लोकमानसिंह कार्कीको बचाउ गर्दै चिकित्सा शिक्षा सुधारको एजेण्डा लिएर अनसनमा बसेका डा. गोविन्द केसीलाई मानसिक रोगी (पागल) घोषणा गरेका थिए। अख्तियारको प्रवक्ताको हैसियतमा कर्णले प्रेस विज्ञप्ति निकालेरै डा. केसीको मानसिक उपचार गर्न भनेका थिए।
त्यसपछि कर्ण कार्की कै आशिर्वाद पाएर भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिस्टर’ बनेर डलर खान गए। डा. केसीलाई मानसिक उपचार गर्न सिफारिस गरेर कर्णले बचाउ गरेका विवादित अख्तियार प्रमुख लोकमानको अभिलेखमै नाम नरहने गरी हालकी प्रधानमन्त्री सुशिला कार्कीले नै जागिर खाइदिएकी थिइन्। गृहमन्त्री अर्याल डा. केसीका कानुनी सहजकर्ता थिए।
सचिव बैठकमै कर्णले शासन-प्रशासन हल्लाउने बिचौलियालाई ‘शासकीय सहजकर्ता’ भन्नु पर्ने प्रस्ताव राखेर थप चर्चा पाएका थिए। आरजु राणा देउवाका भाइ भुषण राणाको स्वार्थ जोडिएको श्रम मन्त्रालयमा कर्णलाई सचिव पठाएर मुख्यसचिव अर्यालले उनलाई मुख्यसचिवमा ‘ग्रुमिङ’ गरेका थिए। अर्याललाई मुख्यसचिव बनाउनु अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राणाको घरमा ‘एग्रिमो’ लिन पठाएको चर्चा अझै सेलाएको छैन। जापान, कोरियादेखि मलेसियासम्मको श्रम बजारमा भुषणको योजनामा काम हुने गरेको ‘ओपन-सेक्रेट’ कुरा हो। कर्ण कुलिङ पिरियड चलखेलमा लागेर निजामती कानुन पास हुन नदिन पनि मुख्यसचिव अर्यालसँगै अग्रपङ्क्तिमा खडा भए। उनीहरू कै कारण संघीय निजामती सेवा ऐनले हावा खाएको जगजाहेर नै छ।
२०७८ असार २४ गते सचिवमा बढुवा भएका कर्ण मुख्यसचिव ३ वर्ष नै मुख्यसचिव चलाउनेमा पर्छन्। उनी मुख्यसचिव नभए २०८३ असार २३ गते ५ वर्ष सचिव चलाएर घर जान्छन्। चाकडीमा नेपाली माटो सुहाउँदो रहेका कर्ण मुख्यसचिव बन्न तीव्र दौडधुपमा लागेका छन्।
विशेष दरबन्दीमा बढुवा भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल मुख्यसचिवमा बढुवा हुने सम्भावना छैन। उनीपछिका सचिव रामप्रसाद घिमिरे पनि मुख्यसचिवको प्रतिस्पर्धामा छन्। तर, फागुनमा घर जाने सूचीमा रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरेको पनि मुख्यसचिव हुने सम्भावना छैन।
बरियता नमिच्ने हो भने सुमनराज अर्याललाई नै मुख्यसचिव बनाएर सरकारले थिति बसाल्नु पर्ने आवाज उठ्न थालेको छ। बरियता मिचिसकेपछि राजकुमार श्रेष्ठ, रामेश्वर दंगाल, घनश्याम उपाध्याय, गोविन्दबहादुर कार्की, भूपाल बरालसम्म मुख्यसचिवका लागि योग्य छन्। अहिले चर्चामा रहेका भन्दा यिनीहरू मुख्यसचिवका लागि उपयुक्त पात्र हुन्। बरियाता नै मिच्ने भए अर्थ, अख्तियार, रक्षा, गृहलगायतमा काम गरिसकेका र अडान भएका दंगाललाई किन मुख्यसचिव नबनाउने?
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस