बल्ल समातिए पूर्वराजपरिवारको सम्पत्तिमा रजाइँ गर्ने अर्जुन कार्की


काठमाडौं। दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा घोटालामा पूर्वसचिव अर्जुनकुमार कार्की समातिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई आईतबार नियन्त्रणमा लिएको हो।

अर्जुनलाई ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको सिआईबीले जनाएको छ। नेपाल ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान गर्दा अर्जुनको पनि संलग्नता देखिएपछि उनी सिआईबीको फन्दामा परेका हुन्।

तत्कालीन सचिव अर्जुनकुमार कार्की र लेखबहादुरको मिलेमतोमा २०७४ साल जेठ १४ गते दरबारमार्गका रहेको नेपाल ट्रष्टको जग्गा यती समूहलाई सुम्पिने काम भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी आङछिरिङ शेर्पाको थामसेर्कु डेभलपर प्रालिलाई उक्त जग्गा कौडीको भाउमा ३० वर्षका लागि भाडामा दिइएको हो।

ट्रष्टका तत्कालीन कार्यकारी सचिव अर्जुनले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थबमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकारी प्रयोग गरी तत्कालीन सहसचिव लेखबहादुरले सम्झौता गरेका थिए। दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गमा रहेको जग्गा भाडामा लगाउने प्रकरणमा थामसेर्कुले सुरूमा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो। नेपाल ट्रष्टका पदाधिकारी र यती थामसेर्कुका माफियाहरूको मिलेमतोमा एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँमा ३० वर्षका लागि उक्त जग्गा भाडामा लगाउने सम्झौता भएको देखिन्छ। उक्त विषयमा महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता औल्याईसकेको छ।

आङछिरिङले तत्कालीन सचिव अर्जुनलाई त्यसबापत भौतिक सचिव समेत बनाइदिएका थिए। आङछिरिङ जीवित रहेको भए उनको मुख्यसचिव र अख्तियार आयुक्तको यात्रा कसैले रोक्न सक्ने भिएनन्। तर, आङछिरिङ हेलिकप्टर दुर्घटनामा पर्दा अर्जुनको निशाना चुक्यो। सहरी विकास मन्त्रालयको सचिव हुँदा त्रिपाल घोटाला काण्डमा मुछिएका अर्जुनले ट्रष्टको दरबारमार्ग र ताहचलको जग्गा भाडामा लगाउने प्रक्रिया अघि बढाएका थिए। अर्जुन बल्ल सिआईबीको फन्दामा परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनकुमार कार्की, #लेखबहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ