डा. रोशन पोखरेललाई ‘ठेगान लगाउन’ सिर्जना गरिएको वीरको बाह्रौं तह अझै कायम
समाचार टिप्पणी
काठमाडौं। तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ‘ठेगान लगाउन’ ल्याएका वीर अस्पतालको दरबन्दी अझै कायम छ। डा. पोखरेल स्वास्थ्य सचिव भएर अनिवार्य अवकाशमा गइसक्दा पनि वीर अस्पतालमा बाह्रौं तहको दरबन्दी अझै नहटेको हो।
तत्कालीन स्वास्थ्य सचिव अर्यालले प्रमुख विशेषज्ञ पोखरेललाई ‘सैतेनी’ व्यवहार गर्थे। उनलाई नै वीर अस्पतालमा पठाउनु भनेर वीरको निर्देशकमा बाह्रौं तहको दरबन्दी सिर्जना गरे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा हस्तक्षेप गर्ने गरी तत्कालीन सचिव अर्यालले वीरमा बाह्रौं तहको दरबन्दी सिर्जना गराएका थिए। डा. पोखरेल होइन अर्याल नै स्वास्थ्यबाट ‘ठेगान’ लागेपछि ‘न्याम्स’ अन्तर्गतको वीर अस्पतालमा स्वास्थ्य मन्त्रालयले गर्न खोजेको हस्तक्षेप असफल भयो। तर, अहिले पनि वीर अस्पतालको बाह्रौं तह देखाएर बढुवा खाने बेथिति जारी छ।
न्याम्समा स्वास्थ्यको बाह्रौं तह मात्र होइन प्रशासन सेवाको समेत सहसचिवको दरबन्दी सिर्जना गरिएको छ। प्रशासनको सहसचिवको आवश्यकता नै नरहेको ‘न्याम्स’ सहसचिव ‘डम्प’ गर्ने थलो बनेको छ। बागमती प्रदेशबाट सरूवा भएर ‘न्याम्स’मा आएका सहसचिव रितेशकुमार शाक्य अझै हाजिर भएका छैनन्। तर, न्याम्सबाट युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएकी मनिता श्रेष्ठ तत्काल मन्त्रालयमा हाजिर भएकी छिन्। उनी न्याम्समा कति उकुसमुकुस भएर बसेकी रहिछन् भन्ने यसले पुष्टि गर्छ। न्याम्समा लक्ष्मण कै श्रीमती सहसचिव निता पोखरेल अर्याललाई पठाए पनि जान्नन्। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा हुँदा त हाजिर नै नभइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतिर लागिन्। न्याम्समा सहसचिवको दरबन्दी कायम राख्ने हो भने नितालाई पठाउनु पर्छ।
वीरमा मात्र होइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दुई जना प्रमुख विशेषज्ञ (अतिरिक्त सचिव) राख्ने विषयमा सोच्ने बेला आएको छ। एउटा अतिरिक्त सचिवलाई समग्र मन्त्रालय र अर्कोलाई औषधि, आयुर्वेदलगायतका विभाग हेर्ने गरी जिम्मेवारी दिएको खण्डमा मात्र हो नत्र मन्त्रालयमा दुई अतिरिक्त सचिवको पनि औचित्य देखिँदैन।
दरबन्दी नै नरहेको प्रशासन सेवाको सचिव पनि स्वास्थ्यबाट हटाउन ढिला भइसकेको छ। स्वास्थ्यमा तत्काल वीर अस्पतालमा दरबन्दी राखेर मन्त्रालयमा हाजिर गराइएको अतिरिक्त सचिव, न्याम्समा रहेको प्रशासनको सहसचिव, स्वास्थ्य सेवा विभागमा रहेको उपमहानिर्देशक कटौती गर्न जरूरी देखिन्छ। स्वास्थ्यमा औचित्यहीन दरबन्दी राखेर राज्यकोषमाथि अनावश्यक व्यभार थप्ने काम भइरहेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस