यसपटक मुख्यसचिव बन्न भूषण राणाको ‘एग्रीमो’ नचाहिने
समाचार टिप्पणी
काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल घर जाने दिन नजिकिंदै गर्दा मंसिरको जाडोमा प्रतिस्पर्धीहरूको सरगर्मी बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकार भएको भए खानेपानी मन्त्रालयकी सचिव प्रमिला बज्राचार्य, गोकर्णमणि दुवाडी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णमध्ये एकजना मुख्यसचिव हुने थिए। ओली-देउवा गठवन्धनको सरकार हटेर ‘जेन-जी’ आन्दोलनको जगमा सुशिला कार्कीको नेतृत्वमा सरकार बनेसँगै मुख्यसचिवको प्रतिस्पर्धामा सुमनराज अर्याल र मधुसुदन बुर्लाकोटी थपिएका छन्।
‘जेन-जी’ आन्दोलन नभएको भए गोकर्णमणि दुवाडी अहिले गृह सचिवको भूमिकामै नरहने थिए। दुवाडीलाई मुख्यसचिव बनाउन रमेश लेखक-दिपक भट्टको ‘ग्याङ’ सक्रिय भएर लागेको थियो। उनी मुख्यसचिवको बलियो दाबेदारको रूपमा रहेका थिए। तर, ‘जेन-जी’ आन्दोलनमा बालबालिकामाथि गोलीको वर्षा भएपछि दर्जनौंको ज्यान गयो। ओली सरकार ढल्यो। गृहसचिव दुवाडी राष्ट्रिय योजना आयोगका फ्यालिए। आन्दोलन दमन मात्र होइन भिजिट भिसाको ‘केस’ समेत ब्यूँतिएपछि मुख्यसचिवमा दुवाडीको ‘च्याप्टर क्लोज’ भयो।
एकनारायण अर्याल अनिवार्य अवकाशमा गएपछि ओलीले नातेदार समेत रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई मुख्यसचिव बनाउन सक्ने चर्चा थियो। खानेपानी मन्त्री प्रदिप यादवलाई भन्दा ओलीले प्रमिलालाई बढी भाउ दिने गरेका थिए। पावर सेन्टर हो भन्दै तत्कालीन खानेपानी मन्त्री यादव सचिवको चाकडी गर्थे। ‘जेन-जी’ सरकार आएपनि मुख्यसचिवमा प्रमिला बलियो दाबेदार हुन्।
मुख्यसचिवका लागि एकनारायण, आरजु राणा देउवा र उनका भाइ भूषण राणाका उम्मेदवार भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण थिए। पछिल्लो समय भूषण राणाको चलखेल गर्ने मन्त्रालय श्रम हो। मलेसिया, जापान, कोरिया काण्डमा भूषणका मुख्य खेलाडी भूषण नै हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकनारायणलाईलाई मुख्यसचिव बनाउनुभन्दा पहिला भूषणको ‘एग्रिमो’ लिन पठाएको चर्चा सेलाएको छैन। उनले ‘एग्रिमो’ लिँदाको कमिटमेन्ट अनुसार काम गर्न सजिलो होस् भनेर कर्णलाई श्रम सचिवमा पठाएका थिए। पर्यटनमा जान खोजेका कर्ण एकनारायण कै प्रस्ताबमा श्रममा गएका हुन्। कर्णलाई मुख्यसचिवमा ‘ग्रुमिङ’ गर्नका लागि भूषणसँग ‘एग्रिमो’ लिन सहज होस् भनेर श्रममा पठाइएको प्रशासनिक वृत्तमा चर्चा सुनिन्छ। श्रम सचिव कर्ण मुख्यसचिव बन्नका लागि भूषणको डिजाइनमा मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास गरेपछि प्रधानमन्त्री सुशिला कार्कीले नै हस्तक्षेप गर्नुपरेको छ। ओली-देउवा गठबन्धनको सरकार भएको भए कर्णको मुख्यसचिव बन्ने सम्भावना बलियो थियो। अहिले पनि उनी मुख्य सचिव बन्न तीव्र दौडधुपमा रहेका छन्।
ओली सरकार हटेर ‘जेन-जी’ सरकार बनेपछि मुख्यसचिवको प्रतिस्पर्धामा सुमनराज अर्याल र मधुसुदन बुर्लाकोटीले एकाएक ‘इन्ट्री’ मारेका छन्। युवा तथा खेलकुद मन्त्राललबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडा हुँदै राष्ट्रिय योजना आयोगमा पठाइएका सुमनले ‘जेन-जी’ सरकार आएपछि रक्षा सचिव बन्ने सौभाग्य प्राप्त गरे। दुवाडीलाई गृहबाट योजना आयोगमा पठाउनु पर्ने भएको र संवेदनशील घडीमा रामेश्वर दंगाललाई गृहमा पठाउनु पर्ने भएपछि सुमनले रक्षामा ‘इन्द्री’ मारे। सचिवको बरियतामा अगाडि रहेका सुमन रक्षामा पुगेसँगै मुख्यसचिवको प्रतिस्पर्धामा स्वतः आए। मुख्यसचिव बन्न यसपटक भूषण राणाको ‘एग्रिमो’ नचाहिने भएकाले सुमनको सम्भावना बढेको हो।
सुमनसँगै सरकार फेरिएपछि राष्ट्रिय तथ्याङ्क कार्यालयमा रहेका मधुसुदन बुर्लाकोटी पनि बौरिएका छन्। मन मारेर बसेका बुर्लाकोटीमा मुख्यसचिव बन्ने आशाको सञ्चार भएको छ। बरियतामा श्रम सचिवभन्दा अघि रहेका उनी मुख्यसचिव बन्ने दौडधुपमा लागेका छन्। भूषणको ‘एग्रिमो’ लिनुनपर्ने भएपछि वाणिज्यबाट फ्यालिएका बुर्लाकोटी मुख्यसचिवको प्रतिस्पर्धामा उत्रिएका हुन्।
सुमन, प्रमिला, मधुसुदन र कृष्ण अहिले मुख्यसचिवका बलिया प्रतिस्पर्धी हुन्। सरकारले कसलाई मुख्यसचिव बनाउँछ भन्ने कुरा थाहा पाउन चाहिँ एकनाराण ९ गते बेलुका घर गएपछि मात्र थाहा हुन्छ।
‘कुलिङ अफ पिरियड’ देउसीभैलोको मुख्यसचिवले गरे बचाउ
मुख्यसचिव एकनारायण अर्यालले प्रस्तावित संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ अफ पिरियड’ हटाउन खेलेको देउसीभैलोको बचाउ गरेका छन्। सोमबार सचिव बैठकमा उनले उक्त कदमको खुलेरै बचाउ गरेको एक सचिवले बताए। अहिलेका मन्त्रीहरू पनि पूर्व प्रशासक नै रहेकाले आफूले चालेको कदम सही रहेको मुख्यसचिव अर्यालको भनाइ उद्धृत गर्दै ति सचिवले सुनाए।
बैठकमा सहभागी सचिवका अनुसार राजीनामा दिने वा विदामा बस्ने चर्चाबीच मुख्यसचिव अर्यालले पूरा अवधि चलाएर मात्र पद छाड्ने सचिव बैठकमा सन्देश दिए। बरू उनले अवकाशपछि राजनीतिमा आउने संकेत गरेका छन्। उनी अवकाशमा गएपछि कुन पार्टीमा आबद्ध हुन्छन् त्यो चाहिँ केही समय कुर्नैपर्छ। अहिले पूर्व प्रशासकहरू अनुपकुमार उपाध्याय, केदारबहादुर अधिकारी, केदार न्यौपाने, मधुप्रसाद भेटवाल, देवेन्द्र कार्कीलगायत थुप्रै राजनीतिक पार्टीमा जोडिएका छन्। मुख्यसचिव अर्यालले पनि त्यतैतिर लाग्ने संकेत गरेकाे पाइन्छ।
सचिव बैठकमा अन्तिम भन्दै मुख्यसचिव अर्यालले आफूपछि आउने मुख्यसचिवले पनि आफूले गरेका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। सबैजना सचिव मुख्यसचिव बन्ने योग्य रहेको भन्दै उनले आफूले गरेका कामलाई निरन्तरता दिनुपर्नेमा उनको जोड रहेको एक सचिवले बताए।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस