‘जेन-जी’ सरकारमा पनि महत्त्वपूर्ण विभागमा पुरानै सत्ताका डिजीहरूको हालिमुहाली


काठमाडौं। ‘जेन-जी’ आन्दोलनको जगमा नयाँ सरकार बनेपनि जनताकाे सरोकार रहने महत्त्वपूर्ण विभागमा पुरानै सत्ताका महानिर्देशकहरू (डिजी)को हालिमुहाली छ। पुरानो सत्ताको खास कर्मचारी बनेर विभागको डिजी बनेका व्यक्तिहरू नै ‘जेन-जी’ सरकारमा कायम रहँदा जनअपेक्षा पूरा हुन सकेको छैन। उनीहरू कै कारण जनआक्रोश चुलिन थालेको छ। सरकारलाई असफलताको बाटो तर्फ धकेल्न उनीहरूको कहिँ न कहिँ भूमिका देखिन्छ।

सुशासन र भ्रष्टाचार विरोधी आन्दोलनको जगमा बनेको सरकारले जनतासँग प्रत्यक्ष सरोकार रहेका विभागमा ‘जेन-जी’को ‘स्पिरिट’ अनुसार चल्ने कर्मचारीलाई विगतको पृष्ठभूमि हेरेर डिजी खटाउन सक्नुपर्थ्यो। तर, सत्ता फेरिए पनि पुरानै कर्मचारीको हालिमुहाली रहँदा ‘जेन-जी’हरूले सुधारको अनुभूति गर्न सकेका छैनन्। कम्तिमा पनि ६ महिनाको ‘टाक्स’ दिएर भिजन भएका सहसचिवहरूलाई डिजी बनाएर विभागमा खटाउन सकेको भए ‘जेन-जी’हरूले सुधारको अनुभूति गर्न सक्ने थिए। त्यतातिर ‘जेन-जी’ सरकारको ध्यान गएको पाइँदैन।

सरकारलेऔषधि व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, यातायात व्यवस्था विभाग, राहदानी विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग,भूमि व्यवस्थापन तथा अभिलेख विभाग, अध्यागमन विभाग, सडक विभागलगायतमा ‘जेन-जी’को स्पिरिट अनुसारको डिजी पठाउन सकेको छैन।

नयाँ सरकार आएपछि स्वास्थ्य सेवा विभागका डिजी टंकप्रसाद बाराकोटीले राजीनामा दिएर केशरबहादुर ढकाल कमाण्ड सम्हाल्न पुगेका छन्। पर्यटन विभागका डिजी नारायणप्रसाद रेग्मीको ठाउँमा रामकृष्ण लामिछाने फेरिएका छन्। सूचना तथा प्रसारण विभागको नयाँ डिजी बनेर छबिन्द्र पराजुली गएका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी गजेन्द्र ठाकुर बनेका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि नमराज घिमिरे कमाण्ड सम्हाल्न पुगेका छन्। यिनीहरूबाहेक अधिकांश डिजीहरू पुरानै सत्तालाई ‘फेभर’ गर्ने खालका छन्।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एकछत्र राज गरेको लामो समय भइसकेको छ। विवादित डिजी ढकाललाई ‘जेन-जी’ सरकारले पनि बोकेर हिँड्को छ। जसले गर्दा ‘जेन-जी’ सरकारको सुशासनको जग नै हल्लिन थालेको हो। वैदेशिक रोजगार विभागका डिजी कमलप्रसाद भट्टराईले ‘जेन-जी’ सरकारलाई गिज्याइरहेका छन्। माओवादी सत्ताका तरमारा सहसचिव भट्टराई ‘जेन-जी’ सरकार आएपनि वैदेशिक रोजगार विभागको डिजीमा कायम छन्। उनी विभागमा बसेर विभिन्न चलखेल गरिरहेका छन्। उनी फोटो समेत लुकाएर गुप्त चलखेलमा छन्।

आन्तरिक राजस्व विभागको महानिर्देशक मदन दाहाल अहिले पनि हर्ताकर्ता देखिछन्। भन्सार विभाग श्यामप्रसाद भण्डारी कै कमाण्डमा छन्।  उद्योग विभाग राजस्व ज्ञवाली र यातायात व्यवस्था विभागको डिजी राजिव पोखरेल लामो समयदेखि नेतृत्वमा छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभाग शिवप्रसाद रेग्मी पुरानै सरकारको विकृत सरूवा अभ्यासमा रमाइरहेका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाल, हुलाक सेवा विभागको मनमाया भट्टराई पंगेनी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका रोशन ज्ञवाली पनि ‘जेन-जी’ सरकारमा कमाण्ड सम्हालिरहेका छन्। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सडक विभाग महानिर्देशकमा विजय जैसी कायम रहेका हुन्।

शक्तिशाली विभागमा रहेका डिजीहरूको पुरानै सत्तासँग नेक्सस हुने भएकाले ‘जेन-जी’ सरकारले चाहे जस्तो नतिजा निकाल्न सक्दैन। नयाँ बोतलमा पुरानै रक्सी राखेर नयाँ स्वाद लिन्छु भन्नु ‘जेन-जी’हरूलाई मुर्ख बनाउनु हो। यिनीहरूको ‘ट्रयाक रेकर्ड’ हरेर विभागमा ‘डाइनामिक’ नेतृत्व पठाउन ढिला भइसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ