श्रीमतीलाई जागिर खुवाउने प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शको बचाउ


काठमाडौं। श्रीमतीलाई जागिर खुवाउने प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बचाउमा प्रधानमन्त्री कै टिम उत्रिएको छ। आदर्शले ‘जेन-जी’का नाममा श्रीमतीलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै बचाउ गरेका छन्। ‘जेन-जी’ अगुवाले आदर्शलाई बर्खास्त गर्न माग राखेर प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएपछि प्रेस संयोजकले बचाउमा विज्ञप्ति जारी गरेका छन्।

‘जेन-जी’ आन्दोलनमा शहीद भएका परिवार र घाईतेलाई दिने भनेको जागिरमा आदर्शले जहान संगिता श्रेष्ठ र नातेदारलाई जागिर खुवाएको पाइएको छ। सहसचिवसरहको सुविधा पाउने गरी श्रीमतीलाई जागिर खुवाउने आदर्शको बचाउमा प्रेस संयोजकको विज्ञप्ति आएको हो।

प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध गरिएको छ।

सर्वोच्च अदालतमा करारमा नायब सुब्बा सरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत आदर्शलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिव सरहको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव बनाएकी थिइन्। उनले ‘जेन-जी’का नाममा श्रीमती नातेदारलाई जागिर खुवाएको खुल्न आएको हो।

‘जेन-जी’ प्रतिनिधिहरूका प्रधानमन्त्रीको स्वकीय सचिवालयमा शहीद परिवार र घाइतेका लागि छुट्याइएको ‘कोटा’मा प्रमुख स्वकीय सचिव आदर्शले श्रीमती र नातेदारलाई जागिर खुवाएका हुन्। आदर्शको आदर्शहीन कर्तुत देखेर ‘जेन-जी’हरू आजित भएका छन्। भ्रष्टाचार र कुशासनविरूद्ध जीवन आहूती दिएर ‘जेन-जी’ आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारलाई बदनाम गरेर आफ्नो फाइदा लिन आदर्श लागिपरेको ‘जेन-जी’हरूको बुझाइ छ।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ