सचिव सरूवामा प्रशासनिक बेथितिलाई निरन्तरता दिएर बिदा भए मुख्यसचिव अर्याल


काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालले सचिव सरूवामा प्रशासनिक बेथितिलाई निरन्तरता दिएर बिदा भएका छन्। एकनारायणले दुई हप्तादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव डा. कमलप्रसाद पोखरेललाई बरण्डामै छाडेर केही सचिवको सरूवा गरेका छन्।

एकनारायणले दरबन्दी नै खाली नभइ कमललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेर बैकुण्ठप्रसाद अर्याललाई कायममुकायम प्रमुख सचिव मुकरर गरेर पठाएका थिए। उनले प्रशासनिक बेथितिलाई मलजल गर्दै बैकुण्ठलाई सुदूरपश्चिम पठाएर कमललाई जगेडामा तानेका हुन्। एकनारायणले कृष्णप्रसाद काप्रीलाई दुई महिनाभन्दा बढी प्रधानमन्त्री कार्यालयको जगेडामा ‘पेण्डुलम’ बनाएर लुम्बिनी प्रदेश पठाएका थिए। अहिले कमलको हकमा पनि त्यस्तै गरेका छन्।

अहिले सचिवका लागि दुई सिट खाली भएको छ। तर, एकनारायणले मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र कोशी प्रदेशको प्रमुख सचिव चन्द्रकला पौडेललाई एकसाथ तानेर प्रशासनिक बेथिति निम्त्याएका छन्। सुदूरपश्चिममा बैकुण्ठ गएकाले सचिवमा बढुवा भएर उनी नै त्यहाँ पदस्थापन हुनेछन्।

सुमनराज अर्याल मुख्यसचिव भएपछि र गोकर्णमणि दुवाडी घर गएपछि बैकुण्ठ र राजेन्द्रप्रसाद पौडेल सचिवमा बढुवा हुँदैछन्। एक सचिव जगेडामा राखेर दुई प्रदेशका प्रमुख सचिव एकसाथ तान्दा प्रशासनिक बेथिति निम्तिएको हो। कोशीकी चन्द्रकला पौडेल संघीय मामिला तथा सामान्य प्रशासन सचिवमा सरूवा भएकी छिन्। कोशीको प्रमुख सचिवमा बढुवा भएर अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेल जाने सम्भावना छ।

मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएका छन्। मधेश प्रदेशमा सचिव बढुवा गरेर पठाउन नमिल्ने अवस्था आएकाले छोटो समय प्रदेश बसेका महालेखा नियन्त्रक शोभाकान्त पौडेललाई मधेश प्रदेश पठाउनु पर्ने ‘जेन-जी’ कर्मचारीहरूको माग छ। कमललाई महालेखा नियन्त्रकमा पठाएर शोभाकान्तलाई मधेश झार्न उपयुक्त हुने ‘जेन-जी’हरूको भनाइ छ। एकनारायणले मधेश खाली गराएर शोभाकान्तलाई धकेल्ने बाटो खुला गरिदिएको उनीहरूको बुझाइ छ।

भूमिका सचिव केदारनाथ शर्मा सुमनको ठाउँमा रक्षा पुगेका छन्। दुवाडीको ठाउँमा संघीय मामिलाबाट रविलाल पन्थ गएका छन्। संघमा सबै मन्त्रालय भरेर एकनारायण हिँडेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा एक सचिव रहेको र मधेश प्रदेश खाली बनाइएकाले शोभाकान्तको चर्चा भएको हो।प्रशासनतिरको सचिव खाली हुन फागुन ९ गतेसम्म कुर्नुपर्ने भएकाले पनि एकनारायणले प्रदेशबाट एकैपटक दुई सचिव सरूवा गरेर ल्याएकाले संघबाट अर्को सचिव पठाउनु पर्ने अवस्था आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ