समाज कल्याण परिषद्का कामु निर्देशक मल्लिकमाथि गम्भीर आरोपसहित उजुरी
काठमाडौं। समाज कल्याण परिषद्का कायममुकायम निर्देशक सञ्जय मल्लिकमाथि गम्भीर आरोपसहित विभिन्न निकायमा उजुरी परेको पाइएको छ। उजुरीमा भारतबाट प्रमाणपत्र ल्याएर बढुवा खाएको, घर बनाएकोदेखि अन्डरल्याण्ड वाटर पार्कमा करोडौं लगानी गरेको आरोप लगाएको हो।
तत्कालीन महिला, बालबालिकामन्त्री स्व. मिना पाण्डेको घरमा खाना पकाउने सिराहाका मल्लिकलाई उनै पाण्डेले समाज कल्याण परिषद्मा जागिर लगाइदिएको उल्लेख छ। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र सञ्चारमन्त्रीलाई सम्बोधन गरेर हालेको उजुरीमा उनले बढुवाका लागि पेस गरेको भारतीय विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रमाथि पनि प्रश्न उठाइएको छ।
निवर्तमान महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीका सुमित साहसँग सेटिङ गरेर योजना तथा कार्यक्रम विभागको जिम्मेवारी पाएको आरोप लागेका मल्लिकले परिषद्मा करोडौं अनियमित गरेको पैसा धनुषाको सपहीमा अन्डरल्याण्ड वाटर पार्क निर्माणमा लगाएको उजुरीमा दाबी गरिएको छ। २ अर्ब ६ करोड ३२ लाख लागतमा १४ बिघा ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त निर्माणाधीन वाटर पार्कमा मल्लिकको मात्र ४ करोड ७० लाख लगानी रहेको आरोप लगाइएको छ।
समाज कल्याण परिषद्मा जागिर खाएरै काठमाडौंको बल्खुमा विशाल घर ठड्याएको र उक्त घर पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको घरसँग जोडिएको उजुरीमा उल्लेख छ। तत्कालीन मन्त्री नवलकिशोर साह सुजीका छोरा सुमित र मल्लिकको मिलेमतोमा विभिन्न एनजीओलाई १० लाखसम्म कमिसन लिएर कार्यक्रम चलाउन अनुमति दिएको उल्लेख छ।
क्याटेगोरी : समाचार
ट्याग : #संजय मल्लिक समाज कल्याण परिषद्


तपाईको प्रतिक्रिया दिनुहोस