पर्यटन सचिवमा मुकुन्द निरौला, विवादित सचिव मैनाली हटाइए


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा मुकुन्दप्रसाद निरौलाको सरूवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सचिव निरौलालाई पर्यटन मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ। पर्यटन सचिवको भूमिकामा रहेका मैनालीले सरकारलाई विवादमा पार्ने गरी काम गर्दै आएका थिए। मधेश प्रदेशको प्रमुख सचिव हुँदा साइकल खरिदमा भ्रष्टाचार मुद्दा लाग्नबाट जोगाइएका मैनाली महालेखा नियन्त्रकमा झनै विवादित भए। महिला मन्त्रालयबाट पनि विवादित भएर निस्किएका मैनाली उपराष्ट्रपति कार्यालयमा समेत बसिसकेका छन्। स्वास्थ्यबाट पर्यटन छिरेका सचिव मैनालीको ‘ट्रयाक रेकर्ड’ राम्रै छैन।

नेपाल वायु सेवा निगमदेखि लुम्बिनी विकास कोषसम्मका नियुक्तिमा सचिव मैनालीले ‘भिलेन’ खलेपछि विवादित व्यक्तिले अवसर पाएका थिए। उनकै कारणले सरकारले पर्यटनका नियुक्तिमा आलोचना खेप्दै आएको छ।

पशुपति बनकालीको पार्किङ अनधिकृत रूपमा ठेक्कामा लगाएर सचिव मैनाली र पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सभाषचन्द्र जोशीले अर्को बदमासी गरेको तथ्य सार्वजनिक भएको थियो। पशुपति क्षेत्र विकास कोषदेखि विभिन्न नियुक्तिमा सचिव मैनालीले अनावश्यक चलखेल गरेको सूचना प्रधानमन्त्री कार्यालयमा पुगेको थियो। उनै विवादित सचिव मैनालीलाई सरकारले पर्यटन मन्त्रालयबाट सरूवा गरेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #मुकुन्दप्रसाद निरौला सचिव, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ