गुठी संस्थानमा दुई सञ्चालक रिक्त, बज्राचार्यले मात्र दिएनन् राजीनामा 


काठमाडौं। गुठी संस्थानको ३ सञ्चालक समिति सदस्यमध्ये २ पद रिक्त भएको छ। सर्वोच्च अदालतले कामकाज गर्न रोक लगाएका दिपकराज पाठक र टेकराज पौडेलले राजीनामा दिएपछि २ सदस्य रिक्त भएको हो। ‘योग्यता’ नपुगेका केशरत्न बज्राचार्यले भने पद ओगटिरहेका छन्।

तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी संस्थानको सदस्य मनोनित गरेका चर्चित गुठी माफिया नुवाकोटे दिपकराज पाठक सर्वोच्च अदालतको ‘एक्सन’पछि मैदान छाडेर हिँडेका थिए। रञ्जिता श्रेष्ठ भूमिमन्त्री हुँदा गुठी संस्थानको अध्यक्ष बन्न लागेका पाठक बलरामलाई प्रभावमा पारेर गुठी संस्थानको सदस्य भएका थिए। उक्त योग्यताका विषयमा सर्वोच्च अदालतले प्रश्न उठाउँदै कामकाज गर्न रोक लगाइदिएपछि राजीनामा दिएर हिँडेका हुन्।

तत्कालीन भूमिमन्त्री बलरामका सहपाठी टेकराज पौडेलको योग्यताको विषयमा पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। कपिलवस्तुका बलरामसँगै स्कूल पढेका (सहपाठी) पौडेललाई मन्त्री भएपछि उनले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। बलराम मन्त्रीबाट हटेपछि र अदालतको चेपुवामा परेपछि टेकराजले पनि राजीनामा दिएर टाप ठोकेका छन्। केही समय भूमि मन्त्रालय समेत चलाएका अनिलकुमार सिन्हाले बलरामको सिको गर्दै आफ्ना सहपाठी प्रकाशमणि शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा मनोनित गरेका छन्। सिन्हाको नियुक्ति पनि बलरामको जस्तै विवादित बनेको छ। संयोग पनि बलराम र सिन्हाले नियुक्त गरेका दुबैजना सहपाठी कपिलवस्तुका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका नातेदार कीर्तिपुरे केशरत्न बज्राचार्य भने अझै गौंडा ढुकेर बसिरहेका छन्। नेपाल स्काउटको कीर्तिपुर प्रमुख रहेर काम गरेका विवादित बज्राचार्यलाई बलरामले गुठी संस्थानको विज्ञ सदस्यमा मनोनित गरेका थिए। सर्वोच्च अदालतले कामकाज गर्न रोक लगाएका बज्राचार्य भने लिसो जस्तै अहिलेसम्म पदमै टाँसिरहेका छन्। सँगै मनोनित भएका पाठक र पौडेलले मैदान छाडेपनि बज्राचार्य अटेरी बनेर बसिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #केशरत्न बज्राचार्य, #गुठी संस्थान, #गुठी संस्थान सदस्य, #टेकराज पौडेल, #दिपकराज पाठक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ