पुरूष कर्मचारी निकाल्दै महिला पठाउन थालियो वैदेशिक रोजगार विभागमा
काठमाडौं। वैदेशिक रोजगार विभागमा रहेका पुरूष कर्मचारी निकालेर धमाधम महिला कर्मचारी पठाउन थालिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मधेश प्रदेश पठाएर विभागको महानिर्देशकमा मिरा आचार्यलाई पठाइएको हो। मिरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वैदेशिक रोजगार विभागको कमाण्ड सम्हाल्न पुगेकी हुन्।
मिरा मात्र होइन वैदेशिक रोजगार विभागमा उपसचिव पनि महिला कर्मचारीलाई पठाउन थालिएको छ। विभागमा रहेका पुरूष उपसचिवलाई निकालेर महिला उपसचिव पठाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वरी खत्री सापकोटा र कृष्णकुमारी गौली तिवारीलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।

विभागमा रहेका पुरूष उपसचिव लवराज जोशीलाई सामान्यको अतिरिक्तमा तानेर र अर्का उपसचिव उपेन्द्रराज पौड्याललाई गृहमा पठाएर राजेश्वरी र कृष्णकुमारीलाई वैदेशिक रोजगार विभागमा पठाइएको हो। उपेन्द्रराज क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालका सहोदर भाइ हुन् भने लवराज भानुभक्त जोशी सामान्य प्रशासन मन्त्री हुँदा निजी सचिव थिए।
छोटो समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रामेछाप नगरपालिका, जिल्ला समन्वय समितिको कार्यालय, दोलखामा पुगेर सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा फर्किएकी राजेश्वरी वैदेशिक रोजगार विभागमा सरूवा भएकी हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा भएको हप्ता दिन नपुग्दै कृष्णकुमारी पनि वैदेशिक रोजगार विभागमा सरूवा भएकी छिन्।
विभागमा उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीसहित निर्देशकहरू टिकाराम ढकाल, खिलराज राई, प्रयागदत्त जैशी पुरूष नै नरहेका छन्। शाखा अधिकृत पनि अधिकांश पुरूष नै रहेको उक्त विभाग महिला कर्मचारीलाई मात्र चलाउन दिने प्रधानमन्त्री सुशीला कार्कीको योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। विभागमा रहेको सहसचिव उपमहानिर्देशकको आवश्यकता र औचित्य भने पृष्टि हुन सकेको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णकुमारी गौली तिवारी, #मिरा आचार्य, #राजेश्वरी खत्री सापकोटा



तपाईको प्रतिक्रिया दिनुहोस