कुलमानको कोटाबाट समानुपातिक सूचीमा परेका पशुपतिका मुख्य ठेकेदार तामाङको उम्मेदवारी कायमै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेका पशुपति क्षेत्रका मुख्य ठेकेदार धर्मलाल तामाङको उम्मेदवारी अझै कायम छ। विश्वरूपलगायत पशुपति क्षेत्रभित्र अर्बौको ठेक्का हत्याएका तामाङ रास्वपाबाट समानुपातिकमा आदिवासी/जनजाति क्लस्टरको ८ औं नम्बरमा रहेका छन्। एमाले पृष्ठभूमिका काभ्रेपलाञ्चोकका तामाङ कुलमानका सहोदर भाइका ससुरा हुन्।
रास्वपाको समानुपातिक सूचीमा रहेका आसिफ शाह, डा. त्रिसाला गुरूङ, सचिन ढकाल, टासी शेर्पा, डा. महेन्द्र लावतीलगायतले उम्मेदवारी फिर्ता लिने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दा तामाङ भने अझै चुपचाप छन्।
उज्याले नेपाल पार्टी (उनेपा)को बेठकमा कुलमानले समेत भाइका ससुरा धर्मलाल तामाङको उम्मेदवारी फिर्ता लिन लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, पशुपतिका ठेक्कामा एकछत्र राज गरेका तामाङले रास्वपाबाटै सांसद बन्ने सपना बुनिरहेका छन्।
विश्वरूपदेखि पशुपतिमा ढुङ्गा छाप्नेलगायतका निर्माणका ठेक्कामा तामाङको एकलौटी छ। कार्यकारी निर्देशक हुँदै पशुपति क्षेत्र विकास कोषको कार्यवाहक सदस्यसचिव बन्न सफल शुभाषचन्द्र जोशीको सेटिङमा उनले पशुपतिका ठेक्कामा राज गर्दै आएका हुन्।
महालेखा नियन्त्रक कार्यालयबाट खटाएका लेखा अधिकृत रविन्द्रकुमार धामीलाई तामाङको कम्पनीलाई आवश्यक भुक्तानी गर्न लगाएर उनै जोशीले फिर्ता पठाउने निर्णय गरेका थिए। उक्त विषयमा महालेखा नियन्त्रक कार्यालयले जोशीलाई समेत स्पष्टीकरण सोधेको छ। उनीहरू कै ‘डिजाइन’मा शैक्षिक योग्यतामाथि नै प्रश्न उठेका सूर्य भाटलाई लेखा अधिकृतको जिम्मा दिएपछि विवाद उत्पन्न भएको हो।
तामाङले जोशीलाई नै पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनाउन ‘लबिइङ’ गरेका थिए। कुलमानलाई भेटाउने चाँजोपाँजो समेत तामाङले नै मिलाएका थिए। अन्य आर्थिक व्यवस्थापन समेत गरेर सदस्यसचिव बन्न र बनाउन दौडिएका थिए। उनै तामाङ कुलमानको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका हुन्। जोशी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नबने पनि तामाङ कुलमानको साथ लिएर संघीय सांसद बन्ने दाउमा छन्।
ट्याग : #धर्मलाल तामाङ, #शुभाषचन्द्र जोशी



तपाईको प्रतिक्रिया दिनुहोस