बल्ल खुल्यो धर्मलालले बन्द गराएको पशुपतिको ‘धर्मद्वार’
समाचार टिप्पणी
काठमाडौं। विश्वका आराध्यदेव पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने गौशालाको मुख्य गेट एक वर्ष अघिदेखि बन्द रहेको थियो। ‘भिआईपी’बाहेक अरूलाई प्रवेश निषेध गरिएको उक्त गेट बल्ल सर्वसाधारणका लागि खुलेको छ। अब भने उक्त गेटबाट छिर्न जोकोहीलाई बाटो खुला भएको हो।
पशुपतिका मुख्य ठेकेदार धर्मलाल तामाङले त्यो क्षेत्रमा ढुङ्गा विच्छ्याउने ठेक्का पाएपछि गेट नै बन्द गरिदिएका थिए। काम सम्पन्न भएपनि उक्त गेट बन्द नै राखेर पशुपतिमा आउनेहरूलाई प्रयोग गर्न दिइएको थिएन। अब भने उक्त ‘धर्मद्वार’ सबैका लागि खुला भएको छ।
नाम धर्मलाल भएपनि पशुपतिनाथलाई दर्शन गर्न जाने ‘धर्मद्वार’ थुनेर उनले ‘अधर्मी’ काम गरेको भन्दै आलोचना भएको थियो। पशुपति क्षेत्र विकास कोषमा नयाँ टिम आएपछि उक्त गेट खुलाइएको हो।
कुलमान घिसिङको कोटाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका काभ्रेपलाञ्चोकका धर्मलाल तामाङ निर्माणतर्फ पशुपतिका मुख्य ठेकेदार हुन्। पलाञ्चोकदेखि विश्वरुपसम्म सिमेन्ट र अंग्रेजी अक्षरका इट्टा प्रयोग गरेको भनेर उनीमाथि अभियान्ताहरूले प्रश्न उठाउँदै आएका छन्। रास्वपाको आदिवासी/जनजाति क्लस्टरबाट ८ नम्बरमा परेका पशुपतिका मुख्य ठेकेदार तामाङले पशुपतिको ‘धर्मद्वार’ नै बन्द गरिदिएका थिए। धर्मलालले पशुपतिको ‘धर्मद्वार’ बन्द गरेर पाप गरेको टिप्पणी हुन थालेपछि मुख्य गेट बल्ल खुला भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस