‘एक्सन प्लान’ बनाएरै ‘एक्सन’मा उत्रिए भूमिमन्त्री इङनाम 


काठमाडौं। सुशीला कार्की नेतृत्वको ‘जेन-जी’ सरकारका मन्त्रीहरू फरक-फरक ध्याउन्नमा छन्। केही मन्त्रीहरू चुनाव लड्ने र खर्च जुटाउने ध्याउन्नमा छन् भने कोही मन्त्री केही गरौं भनेर मरिमेटेर लागेका छन्। ‘जेन-जी’ आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सुधार र परिवर्तनमा केन्द्रित हुने मन्त्री हुन् कुमार इङनाम।

कुलमान घिसिङ काठमाडौं-३, जगदिश खरेल ललितपुर-२ र बब्लु गुप्ता सिराहा-१ बाट चुनाव लड्ने तयारी गरिरहँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनाम ‘एक्सन प्लान’ बनाएरै ‘एक्सन’मा उत्रिएका छन्। सेवा प्रवाहमा सुधारसम्बन्धी कार्ययोजना बनाए मन्त्री इङनाम फिल्डमा उत्रिएका हुन्। भूमि मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हाले सम्हाल्दा गुठी संस्थानको अध्यक्ष नियुक्ति गर्ने र ‘जेन-जी’ आन्दोलनको ‘म्यान्डेट’विपरीत हदबन्दीभन्दा बढीको जग्गा हाइजिङ कम्पनीलाई राख्न र बेच्न दिने गरी अध्यादेश ल्याउनेबाहेक खासै उलेख्य काम गरेका थिएनन्। इङनामले भने छोटो समयमै बिचौलियाको अखडा भनेर परिचित मालपोतका हाकिमलाई हायलकायल बनाएको पाइन्छ।

भूमि सचिव मदन भुजेलका हितैषी घर-जग्गा कारोबारी कालीदास देवकोटालाई गुठी संस्थानको सञ्चालक सदस्य मनोनित गर्दा चुकेका मन्त्री इङनाम अन्य विषयमा भने स्पष्ट देखिन्छन्। मन्त्रालयमा बसेर केही गरौं भन्ने हुटहुटी भएका मन्त्री इङनामले ‘घूसिया’ कर्मचारीलाई भागाभाग बनाएका छन्। भूमिमा उनको ‘स्पिरिट’ अनुसारको सचिव नपाएको चर्चा चल्न थालेको छ।

मन्त्री इङनामले जग्गासम्बन्धी विभिन्न समिति र आयोगका छानबिन प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्न लागिपरेका छन्। त्यसका लागि उनको ‘टिम’ले काम गरिरहेको छ। मन्त्री इङनामले पशुपतिको मुटुमा रहेको अग्नीहोत्रशाला व्यवस्थापन र तत्कालन सञ्चालनमा ल्याउन गुठी संस्थानलाई निर्देशन दिइसकेका छन्। तत्काल अग्नीहोत्रीको व्यवस्थापनमा गर्न उनले गुठी संस्थानका प्रशासन शैलेशराज कुँवरलाई निर्देशन दिएका हुन्। मन्त्रीको सक्रियतासँगै चार वर्षदेखि ‘भूत बंगला’ र दुर्व्यसनीको अखडा बनेको अग्नीहोत्रशाला सञ्चालनमा आउने सम्भावना बढेको छ।

घूस बुझाएर गएकाे भनेर आरोपित चिनियाँ लामा हटाउन उनी सक्रियापूर्वक लागेका छन्। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गरेका मन्त्री इङनामको ‘टार्गेट’मा बौद्धनाथस्थित धार्मिक गुरू ‘चिनियाँ लामा’ परेका हुन्। मालपोतका बिचौलिया भागाभाग बनाउन लागिपरेका मन्त्री इङनामले घूस खुवाएर गुठी संस्थानबाट नियुक्ति पड्काएका ‘चिनियाँ लामा’लाई निकाल्न लागेका हुन्। आर्थिक चलखेलको विषय आएपछि चाबहिल, भक्तपुर र ललितपुरका मालपोत हाकिम हटाएका मन्त्री इङनामको ‘टार्गेट’मा बौद्धनाथस्थित धार्मिक गुरू ‘चिनियाँ लामा’ परेको देखिन्छ। उनले बौद्धनाथस्थित धार्मिक गुरू ‘चिनियाँ लामा’ नियुक्ति गर्दा ५ करोडको घूस लेनदेन भएको सूचना पाएका छन्। उपत्यकामा सबै नापी र मालपोत प्रमुख फेरेर मन्त्री इङनामले कार्ययोजना लागू गर्नु पर्ने ‘जेन-जी’हरूको सुझाव छ।

मन्त्री इङनामले पौष मसान्तभित्र जग्गाको बर्गीकरण अनुसार (निजी/सार्वजनिक/सरकारी/हदबन्दीभन्दा बढी जग्गा आदि)को लगत अध्यावधिक विवरण तयार पार्न सम्बन्धित विभाग र कार्यालयलाई निर्देशन दिइसकेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मी भने मन्त्रीको स्पिरिट अनुसार चल्न सकेको देखिँदैन।

विर्ता जग्गा सम्बन्धी समस्या समाधान गर्नेदेखि मोही सम्बन्धी अभिलेख, तथ्याङ्क, अद्यावधिक तथा संकलन गर्ने विषय समेत मन्त्री इङनामको ‘एक्सन प्लान’मा समेटिएको छ। स्थानीय तहमा भू-सेवा केन्द्र सञ्चालन गर्न अभिमूखीकरण कार्यक्रम गरी ‘पाइलट प्रोजेक्ट’ सुरू गरिएकोमा कम्तिमा थप १० वटा थप स्थानीय तहमा विस्तार गर्ने उनको कार्ययोजना छ।

दुर्गम तथा आवश्यक पर्ने स्थानमा मालपोत कार्यालय थप गर्ने, भूमि बैंक सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि तर्जुमा गर्ने, भूमि समस्या सम्बन्धी राष्ट्रियस्तरको ‘रियल-टाइम’ डाटाबेस तयार गर्ने मन्त्री इङनामको मालपोत तथा भूमि सुधारको सेवा प्रवाहमा सुधार सम्बन्धी कार्ययोजनामा उल्लेख छ।

सहकारी क्षेत्र सुधारका लागि तुरुन्तै सहकारी क्षेत्रमा भएको बेथिति सम्बन्धी छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने तयारीमा मन्त्री इङनाम रहेका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई ऐन बमोजिमको कार्य सम्पादन गर्न जनशक्ति व्यवस्थापनदेखि प्राविधिक सहायता प्रदान गर्न समेत उनी कार्ययोजनाका साथ अघि बढेका हुन्।

समस्याग्रस्त सहकारीहरूको विस्तृत विवरणसहित श्वेतपत्र जारी गर्ने, कोपोमिसमा बचत तथा ऋण सहकारीलगायत सबै प्रकारका सहकारी संस्थाहरूको सहकारी ऐन र नियमावली बमोजिमको विवरण अध्यावधिक गर्ने, बचत तथा ऋण सहकारीमा नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्ड पालना एवं कार्यान्वयनको अनुगमन गर्ने मन्त्री इङनामको कार्ययोजनामा समेटिएको छ।

समस्याग्रस्त सहकारीका सम्बन्धमा भएका कार्य प्रत्येक हप्ता वेबसाइटमा सार्वजनिक गर्ने, उच्च जोखिम भएका सहकारीको सूचीकरण र वर्गीकरण गर्ने, सहकारी बचतकर्ताको रकम ठगी गर्ने, अपचलन गर्ने दोषी सञ्चालक/पदाधिकारी/कर्मचारीविरुद्ध पक्राउ पूर्जी, राहदानी रोक्का, मुद्दा दर्तालगायतका विवरणका लागि समेत प्रणालीको विकास गर्ने समेत मन्त्री इङनामको कार्ययोजना छ।

देशभरका सबै स्थानीय तहको भू-उपयोगको अवस्था झल्किने ‘जिआईएस’ नक्सा तयारी गरी प्रकाशन गर्ने र भू-उपयोग अनुसारको नक्सा (एटलास) तयार गर्ने कार्ययोजना मन्त्री इङनामले अघि सारेका छन्।

अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत तथा व्यवस्थापनमा समन्वय गर्ने, नापी नभएका भूभागको नापनक्सा गर्ने, साथै गुठीको जग्गामा नापी हुन बाँकी रहेका स्थान नवलपरासी, सुनसरी, दोलखा, संखुवासभा जिल्लामा नापी दर्ता सुरू गरी सम्पन्न गर्ने मन्त्री इङनामको कार्ययोजना छ। दुर्गम तथा आवश्यक पर्ने क्षेत्रहरूमा नापी कार्यालय थप गर्ने र नक्सापास कार्यका लागि छुट्टै नापी कार्यालय स्थापना गर्ने उनले कार्ययोजनामा समेटेका हुन्।

मन्त्री इङनामले गुठी जग्गा सम्बन्धमा भोजराज घिमिरेको पेस भएको प्रतिवेदन लागू गर्न कार्यदल गठन गर्ने तयारी थालेका छन्। गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिम विद्वत समिति गठन गर्नेदेखि पठाधीश, पुजारी, चिनियाँ लामालगायतको पारिश्रमिक तोक्ने सम्बन्धी मापदण्ड तर्जुमा गर्ने कार्ययोजना उनले तयार पारेका हुन्। अहिले महन्तको पारिश्रमिक भन्न पनि लाजमर्दो हुने ३ हजार रुपैयाँ रहेको छ। मन्त्री इङनामले मठाधीश तथा चिनियाँ लामा नियुक्ति सम्बन्धी मापदण्ड समेत संशोधन र परिमार्जन गर्न खोजेका छन्।

मन्त्री इङनामले श्रीगणेश र श्रीभैरवको आवासका लागि हनुमानढोकास्थित साविन नवआदर्श विद्यालय भवन रहेको स्थानमा भवन निर्माणका लागि शिक्षा मन्त्रालयसँग जग्गाको भोगाधिकारका लागि समन्वय गरिरहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने क्षेत्र विकास र गुठी व्यवस्थापन समिति बीचको दोहोरो क्षेत्राधिकारको विषय निराकरण गर्ने उनको कार्ययोजना छ।

रैतानी, अधिनस्थ र तैनाथी गुठी जग्गाको लगत प्रमाणीकरण गरी उक्त लगत तयार गर्ने र त्यस्ता जग्गाको संरक्षण गर्न मन्त्री इङनाम जुटेका छन्। यस्ता महत्त्वपूर्ण र प्रभावकारी कार्ययोजना लिएर मन्त्री इङनाम ‘एक्सन’मा उत्रिएका हुन्। यीबाहेक उनले तयार पारेका कार्ययोजनामा थुप्रै आवश्यक विषयहरू रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कुमार इङनाम एक्सन प्लान, #भूमि मन्त्री प्रा. डा. कुमार इङनाम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ