सामुदायिक स्वास्थ्य कार्यक्रमले बर्दिबासमा मातृ–शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार


बर्दिबास । बर्दिबास नगरपालिकामा सञ्चालन हुँदै आएको सामुदायिक स्वास्थ्य कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याएको निष्कर्ष सार्वजनिक भएको छ। तीन वर्षको कार्यक्रम कार्यान्वयनपछि गरिएको सामुदायिक स्वास्थ्य कार्यक्रमको प्रभावकारिता अध्ययन प्रतिवेदन आज आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो।

सन् २०२२ फेब्रुअरीदेखि घरधुरी प्रोफाइलिङ सुरु गरिएको थियो भने सन् २०२३ जनवरीदेखि “जीवनपथको अवधारणा” अनुरूप घरदैलो स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ। कार्यक्रम सञ्चालन भएको तीन वर्षको अवधिमा कुल १५ हजार ४५३ घरधुरीका ७४ हजार ४२० व्यक्तिलाई सेवाका लागि दर्ता गरिएको प्रतिवेदनमा उल्लेख छ। दर्ता भएका मध्ये प्रजनन उमेर समूहका विवाहित महिलाको संख्या १४ हजार ५९४ रहेको छ।

प्रतिवेदनले गर्भावस्थाको चाँडो पहिचानमा उल्लेखनीय सुधार देखाएको छ। सामुदायिक स्वास्थ्य नर्समार्फत गर्भावस्थाको पहिलो १२ हप्ताभित्र गर्भवती महिला पहिचान गर्ने दर सेवा सुरु भएको पहिलो वर्षमा १३.७ प्रतिशत रहेकामा दोस्रो वर्षमा बढेर २०.६ प्रतिशत पुगेको छ। यसले समयमै गर्भजाँच र आवश्यक सेवामा पहुँच बढाउन सहयोग पुगेको प्रतिवेदनको निष्कर्ष छ।

त्यस्तै, संस्थागत सुत्केरी दरमा पनि उल्लेखनीय वृद्धि भएको छ। सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु भएयता बर्दिबास नगरपालिकामा घरमै सुत्केरी गराउनेको संख्या घट्दै गएको छ। सुरुवाती चरणमा ७५ प्रतिशत रहेको संस्थागत सुत्केरी दर दोस्रो वर्षसम्म आइपुग्दा ९४ प्रतिशत पुगेको छ, जुन अझै बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ।

सुत्केरीपछिको घरमै स्याहार सेवामा पनि सुधार आएको प्रतिवेदनमा उल्लेख छ। बच्चा जन्मिएको ३, ७ र १४ दिनभित्र सामुदायिक स्वास्थ्य नर्सबाट घरमै सुत्केरी स्याहार सेवा पाउने महिलाको संख्या निरन्तर बढिरहेको छ। पहिलो वर्षमा कुल सुत्केरी महिलामध्ये ६६ प्रतिशतले १४ दिनभित्र सेवा पाएकामा तेस्रो वर्षसम्म आइपुग्दा यो संख्या करिब ७६ प्रतिशत पुगेको छ।

कार्यक्रम प्रभावकारिता अध्ययन प्रतिवेदन प्रस्तुत कार्यक्रममा सहभागी वक्ताहरूले सामुदायिक स्वास्थ्य नर्समार्फत घरदैलो सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्यमा गुणात्मक सुधार आएको भन्दै यस मोडेललाई अन्य स्थानीय तहमा समेत विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ