बदलिँदो जनसंख्या र रोगको बोझबीच सामुदायिक स्वास्थ्य नर्स: प्राथमिक स्वास्थ्य सेवाको निर्णायक आधार


काठमाडौं । नेपालमा तीव्र रूपमा परिवर्तन हुँदै गएको जनसांख्यिक संरचना, नसर्ने रोगको बढ्दो बोझ र समुदायको बढ्दो अपेक्षाबीच सामुदायिक स्वास्थ्य नर्स कार्यक्रम प्राथमिक स्वास्थ्य सेवाको निर्णायक आधारका रूपमा स्थापित हुँदै गएको एक अध्ययनले देखाएको छ।

अध्ययनअनुसार ६० वर्ष माथिका ज्येष्ठ नागरिकको वार्षिक वृद्धिदर ३.२९ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा करिब तीन गुणा बढी हो। शहरीकरण तीव्र बन्दै जाँदा हाल ६६ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गरिरहेको छ। यस परिवर्तनसँगै अस्वस्थ खानपान, सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता बढ्दै जाँदा नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा बढेको छ।

प्रतिवेदनले दीर्घरोगसँग जोडिएका अन्यराेगकाे जोखिम १.६८ गुणा बढी रहेको र करिब ८० प्रतिशत दीर्घरोग या त पहिचान नभएको वा नियन्त्रणमा नरहेको देखाएको छ। यही कारण नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको तथ्य प्रस्तुत गरिएको छ।

मातृ–शिशु स्वास्थ्यमा स्थिरता र खाडल

अध्ययनले मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा प्रगति स्थिर अवस्थामा पुगेको देखाएको छ। हाल नेपालमा मातृ मृत्यु दर प्रति एक लाख जीवित जन्ममा १५१ रहेको छ, जुन दिगो विकास लक्ष्य (SDG) अनुरूपको लक्ष्यभन्दा अझै उच्च हो। ६८ देखि ७० प्रतिशत मातृ मृत्यु अझै पनि रोक्न सकिने अवस्थामा रहेको र तीमध्ये धेरै घटनामा समयमै सेवा पाउन नसक्नु, स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ हुनु र गुणस्तरीय सेवा नपाउनु — प्रमुख कारण रहेको उल्लेख गरिएको छ।

सानो लगानी, बहुआयामिक प्रतिफल

सामुदायिक स्वास्थ्य नर्समा गरिएको लगानीले उच्च प्रतिफल दिने देखिएको छ। अध्ययनअनुसार प्रत्येक १ डलर लगानी गर्दा करिब १० डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने सम्भावना देखिएको छ। सामुदायिक स्वास्थ्य नर्समार्फत सबैभन्दा संवेदनशील जनसंख्यामा प्रत्यक्ष सेवा पुग्ने, आकस्मिक तथा महँगो उपचारको आवश्यकता घट्ने र दीर्घरोगका कारण अस्पताल भर्ना हुने दर २५ प्रतिशतसम्म कम गर्न सकिने वरिष्ठ नर्सिङ प्रशासक बाला राईले बताइन्।

घरदैलोमै समग्र स्वास्थ्य सेवा

राइका अनुसार सामुदायिक स्वास्थ्य नर्स कार्यक्रमको मूल उद्देश्य परिवार तहमा प्रत्येक व्यक्तिको स्वास्थ्य तथ्याङ्क संकलन गरी आवश्यकताअनुसार निरन्तर अनुगमन गर्नु हो। समुदायमा सञ्चालन भइरहेका विभिन्न स्वास्थ्य कार्यक्रमलाई एकीकृत गरी घरदैलोमै समग्र प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउने अवधारणामा यो कार्यक्रम आधारित छ।

जीवनपथ अवधारणाअनुसार गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका, किशोर–किशोरी, वयस्क तथा ज्येष्ठ नागरिकसम्म नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य प्रवर्द्धन र प्राथमिक उपचार सेवा उपलब्ध गराइँदै आएको छ। घरमै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै नसर्ने रोगको जोखिम घटाउने काम सामुदायिक स्वास्थ्य नर्सले अग्रपङ्तिबाट गरिरहेका छन्।

स्क्रिनिङदेखि व्यवहार परिवर्तनसम्म

कार्यक्रमअन्तर्गत नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या, क्यान्सरलगायतका रोगको प्रारम्भिक स्क्रिनिङ गरिन्छ। साथै व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा प्रदान गर्दै स्वस्थ जीवनशैली, सन्तुलित आहार, शारीरिक सक्रियता प्रवर्द्धन तथा धूम्रपान र मद्यपान निरुत्साहित गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

स्वास्थ्य बीमामा सहभागिता र पुनःदर्ता सेवा प्रभावकारी बनाउने कार्यमा पनि सामुदायिक स्वास्थ्य नर्सको भूमिका महत्वपूर्ण रहेको अध्ययनले औंल्याएको छ।

नीतिगत सन्देश

अध्ययनले सामुदायिक स्वास्थ्य नर्स कार्यक्रमले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, मातृ–शिशु स्वास्थ्य सुधार, नसर्ने रोग नियन्त्रण र स्वास्थ्य खर्च घटाउन दीर्घकालीन योगदान दिन सक्ने स्पष्ट सन्देश दिएको छ। विज्ञहरूले यस मोडेललाई परियोजनामै सीमित नगरी राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ