गृह मन्त्रालयको नयाँ जुक्ति: सहसचिवमा सिफारिस भएकालाई सिडिओमा पठाउन थाल्यो


काठमाडौं। गृह मन्त्रालयले नयाँ जुक्ति निकाल्न थालेको छ। सहसचिव बढुवाका लागि सिफारिस भएका उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाउन थालेको हो।

गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका सल्यान, बागलुङ र नुवाकोटमा सिडिओमा बढुवा प्रकियामा रहेका उपसचिवहरूलाई पठाएको छ। गृहले सल्यानमा महेन्द्रकुमार सापकोटा, बागलुङमा कृष्णप्रसाद आचार्य र नुवाकोटमा शम्भुप्रसाद रेग्मीलाई सिडिओ बनाएर खटाएको हो। उनीहरू तीनै जना सहसचिवमा बढुवाका लागि सिफारिस भएका उपसचिव हुन्। उनीहरू केही हप्तामै सहसचिवमा बढुवा हुँदैछन्।

बागलुङका सिडिओ कमानसिंह गुरूङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि आचार्यलाई बागलुङ खटाइएको हो। नुवाकोटका सिडिओ शशीधर घिमिरे कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा भएर आएपछि रिक्त स्थानमा रेग्मीलाई खटाइएको छ। सल्यानको सिडिओमा सापकोटालाई खटाएर गृह मन्त्रालयले उक्त अभ्यासको थालनी गरेको हो। बागलुङ र नुवाकोटमा पनि उस्तै जुक्ति निकालेको हो।

गृह मन्त्रालयले सहसचिव बन्ने निश्चित भएका उपसचिवलाई सिडिओमा खटाएर नयाँ अभ्यास थालेको छ। सहसचिवको दरबन्दीमा उपसचिव खटायो भन्ने आलोचनाबाट मुक्त हुनेगरी गृह मन्त्रालयले सिडिओ खटाउन थालेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णप्रसाद आचार्य, #महेन्द्रकुमार सापकाेटा, #शम्भुप्रसाद रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ